विराटनगर । यमपञ्चकको अन्तिम दिनका रूपमा मनाइने तिहारको मुख्य दिन भाइटीका आज देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदैछ।
दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन्। भाइटीकाको अवसरमा दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका लगाई सौभाग्य, स्नेह र सम्मानको प्रतीकका रूपमा कपडा र दक्षिणा प्रदान गरेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथि वृद्धि भई भाइटीका तिहारको छैटौँ दिनमा परेको हो। साइत खोज्नेका लागि बिहान ११ बजेर ३९ मिनेटको अभिजित् मुहूर्त उत्तम रहेको समितिले जनाएको छ। समितिले यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने उल्लेख गरेको छ, जसअनुसार तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने धार्मिक विश्वास रहेको बताइन्छ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले पनि राजधानीस्थित शीतल निवासमा शुभ साइतमै टीका ग्रहण गरेका छन्। उनले बिहान ११ बजेर ३९ मिनेटको उत्तम साइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाए।
धर्मशास्त्रविद्हरूका अनुसार तिहारमा लगाइने टीकाको परम्परागत रंग पाँचवटा—रातो, सेतो, पहेँलो, हरियो र नीलो—शास्त्रीय रूपमा मान्य छन्। टीका लगाएपछि दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी लगायत खानेकुरा अर्पण गर्ने र भाइहरूले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक सामग्री प्रदान गर्ने धार्मिक र सामाजिक परम्परा रहेको छ।
देशभर आजको दिनभर टीका लगाउने क्रम जारी छ। घर–घरमा दिदीबहिनी र दाजुभाइबीच भेटघाट, मिष्ठान्न, टीका र शुभकामनाको आदानप्रदान हुँदै तिहारको उल्लासपूर्ण वातावरण देखिएको छ ।