ग्रामथानमा सञ्चालित जुवा खालमा प्रहरीको छापा : पाँच जुवाडे पक्राउ

विराटनगर । चाडपर्वको अवसर पारेर ग्रामथान गाउँपालिका–३ स्थित सिद्राहा बाँसबारी चोकमा सञ्चालनमा रहेको जुवा खालमा प्रहरीले मङ्गलबार राति छापा मारेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले राति ११:४५ बजे छापा हानी पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्ता, विराटनगर–१ का ५८ वर्षीय विनोद कार्की, ६८ वर्षीय दिनेश कार्की, ४३ वर्षीय विवेक सिंह र पर्साको वीरगन्ज महानगरपालिका–१६ का ४५ वर्षीय प्रदीपकुमार जैसवाल छन्। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनाल र इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा संयुक्त टोलीले कारबाही सञ्चालन गरेको हो। छापाको क्रममा प्रहरीले अवरोधको समेत सामना गर्नुपरेको थियो। खालबाट जुवाडे फरार भएपछि प्रहरीले उनीहरूलाई लखेटेर पक्राउ गरेको थियो ।

जुवाखालबाट प्रहरीले १५ थान कौडा, नगद ४८ हजार ५ सय ४० रुपैयाँ, केही मोबाइल सेटहरू र जुवाडेहरूद्वारा प्रयोग गरिएको बा ०१–०२६ च ६८५३ नम्बरको कार समेत बरामद गरेको छ।

प्रहरीको कडा निगरानी र कारबाहीका बाबजुद पनि जुवा खेलाइने क्रम नरोकिएको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्। प्रहरीले भने यस्तो गैरकानुनी कार्य सह्य नहुने स्पष्ट पारेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार चाडपर्वमा यस्ता अवैध क्रियाकलापहरू मौलाउने भएकाले प्रहरीले निगरानी र कारबाहीलाई तीव्र पारेको छ। उनले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

कार्तिक ५, २०८२, साँझको ०५:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर