मोरङको जहदा महोत्सवमा झडप : सुरक्षा निकायको सुझाव बेवास्ता, एकजना गम्भीर घाइते

विराटनगर । सुरक्षा निकायले मेला नगर्न दिएको स्पष्ट सुझावलाई बेवास्ता गर्दै मोरङको जहदा–४, रामचोकमा सञ्चालित प्रथम जहाँदा महोत्सवमा झडप भएको छ।

मङ्गलबार राति १२:३० बजे आयोजकहरूबीच कुटाकुट हुँदा एक व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा कटरी–४ निवासी ३५ वर्षीय अनिल कुमार सहनी रहेका छन्।

उनको टाउकोमा गहिरो चोट लागेको छ र हाल कोशी अस्पतालमा उपचार भइरहेको छ। यसअघि, मोरङको लेटाङ महोत्सव जुवाजन्य खेल, मदिरा विक्री तथा झगडाका कारण असोज २६ गते बन्द गरिएको थियो। त्यसको केही दिनमै, असोज ३० देखि कार्तिक १३ गतेसम्मको लागि जहदामा मेला सञ्चालन गरिएको हो। तर सुरक्षा निकायले पछिल्ला घटनालाई मध्यनजर गर्दै मेला सिफारिस नगर्न स्पष्ट सल्लाह दिएको थियो। तर पनि जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रसहितको दबाबमा परेर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिफारिस दिएका थिए ।

जहदा महोत्सवमा भएको झडपले प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीचको समन्वय अभावलाई उजागर गरेको छ।सुरक्षा निकायको स्पष्ट सुझाव हुँदाहुँदै स्थानीय दबाबमा मेला सिफारिस गर्नु प्रशासनिक कमजोरी भएको स्थानीयले बताएका छन्। प्रजिअ यादवले आयोजकले गाउँपालिकाले नै मेलाको लागि सिफारिस माग गरिएको र सम्पूर्ण स्वास्थ्य बीमाको व्यवस्था गरेपछि मात्र सिफारिस गरिएको र कुनै प्रकारको दबाब नरहेको दाबी गरेका छन्। झडप भएको खबर आएपछि मेला बन्द गर्न निर्देशन दिइसकेको बताए।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले मेला सकिएपछि आयोजकहरूबीच मदिरा सेवनपछि झडप भएको पुष्टि गरेका छन्। झडपमा शान्ति सुरक्षा व्यवस्था भएपनि विवाद नियन्त्रणभन्दा बाहिर गएको बताए। उनका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ।

कार्तिक ५, २०८२, बिहानको १०:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर