विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाल सम्वत ११४६ को ऐतिहासिक शुभारम्भको अवसरमा सम्पूर्ण नगरवासीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
प्रमुख कोइरालाले एक शुभकामना सन्देश जारी गर्दै नेपाल सम्वतको महत्वमाथि प्रकाश पार्दै नेपाल सम्वत हाम्रो मौलिक राष्ट्रिय पात्रो भएको बताएका छन् । उनले भनेका छन्, ‘यसले हामीलाई स्वाभिमान, सांस्कृतिक विविधता र ऐतिहासिक चेतनाको बोध गराउने छ।’
नयाँ सम्वतले मुलुकको सभ्यता, राष्ट्रियता र पहिचानको जग बोकेको उल्लेख गर्दै यसलाई सहिष्णुता, सामाजिक एकता र साझा नेपाली पहिचानको प्रतीकका रूपमा सम्मान गर्नुपर्नेमा कोइरालाले जोड दिए।
वर्तमानमा विराटनगर महानगरपालिका समावेशी विकास, सुशासन, समृद्ध नगर निर्माण र सामाजिक न्यायको दिशामा अघि बढिरहेको सन्दर्भमा मेयर कोइरालाले यस्ता पवित्र पर्वहरूले आफूहरूलाई अझ जिम्मेवार, प्रतिबद्ध र सेवामुखी बनाउने विश्वास व्यक्त गरे।
उनले नेपाल सम्वत ११४६ ले हामी सबैमा नवीन ऊर्जा, सहकार्यको भावना र राष्ट्र निर्माणको मार्गमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना समेत गरे।