विराटनगर । देशभर दिपावलीको रमझमा मानिसहरु व्यस्त रहेको बेला आज नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल भने आज मधेश प्रदेशका महोत्तरी जिल्लामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न त्यस तर्फ जाने भएका छन् ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा आयोजना गरिएको खुला सभालाई संयोजक प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको वाइसिएल नेपालका पूर्व अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिएका छन् ।
प्रचण्डले सम्बोधन गर्ने उक्त कार्यक्रमको आन्तरिक सुरक्षा व्यवस्थापन वाइसिएलका युवा कार्यकर्ताहरुले गर्ने छन् । सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु फिर्ता गरेपछि उनको सुरक्षा व्यवस्थापनको जिम्मेवारी वाइसियलले नै लिएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले जितेको थियो । उक्त नगरपालिकाको ९ मध्ये ४ वडा माओवादी केन्द्रले जितेको थियो भने प्रमुखमा उसले दोस्रो मत प्राप्त गरेको थियो । प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मधेशलाई प्राथमिकता दिने सन्देशसहित त्यहाँबाट चुनावी अभियान सुरु गर्न लागेको अनुमान गरिएको छ ।