विराटनगर । तिहारका लागि भारतबाट चोरीपैठारी गरी ल्याइएका सयपत्री फूल र हरियो तरकारी खाल्डो खनेर नष्ट गरिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित रानीक्षेत्र गुल्म र प्लान्ट क्वारेन्टाइन कार्यालय रानी विराटनगरको संयुक्त टोलीले अवैध रूपमा ल्याइएको करिब ३०० केजी सयपत्री फूल र ९० केजी हरियो तरकारी नियन्त्रणमा लिएर नष्ट गरेको हो।
सुरक्षा निकायका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य करिब १ लाख रुपैयाँ रहेको छ। ती सामग्री दरैया सीमाक्षेत्र हुँदै ल्याइएका थिए। क्वारेन्टाइन चेकजाँच नगरी अवैध रूपमा ल्याइएको फूल र तरकारी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म रानी विराटनगरका सहायक प्रहरी निरीक्षक तारानाथ गौतम, प्लान्ट क्वारेन्टाइन कार्यालय रानी विराटनगरका वरिष्ठ बाली संरक्षक अधिकृत नन्द किशोर सिँह तथा स्थानीयवासीहरूको उपस्थितिमा फूल र तरकारी नष्ट गरिएको हो।