आजदेखि सुरु भयो नेपाल संवत् ११४६

विराटनगर — आजदेखि नेपाल संवत् ११४६ सुरु भएको छ। देशभर विशेष कार्यक्रम आयोजना गरी यो संवत् मनाइँदैछ।

नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा विशेष उल्लाससहित मनाउने परम्परा रहेको छ। नेपाल संवत्‌को सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी गराएका थिए।

लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को रूपमा चल्दै आएको ऐतिहासिक विवरणहरूमा उल्लेख छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, तर नेपाल देशको नामबाट राखिएको नेपाल संवत् नै मौलिक राष्ट्रिय संवत् हो।

विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु भएको थियो। हाल काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायतका नेवार बस्तीहरूमा यो संवत् विशेष उत्सवका रूपमा मनाइन्छ।

शंखधर साख्वाले गरिब जनताको ऋणमोचन गरी सामाजिक न्याय र समानताको सन्देश दिएको स्मरणमा विसं २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय विभूति घोषित गरेका थिए।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवत्लाई औपचारिक रूपमा राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। नेवार समुदायमा अझै पनि कात्तिक कृष्ण औंसीका दिन पुरानो बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा जोगिएको छ, जसले नेपाल संवत्‌को आर्थिक र सांस्कृतिक महत्वलाई झल्काउँछ।

कार्तिक ५, २०८२, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर