विराटनगर । अन्य समुदायले तिहार मनाइरहँदा कोशी प्रदेशका लिम्बू समुदायले आफ्नै मौलिक परम्परा अनुसार बलिहाङ तङ्नाम उत्सवका रूपमा मनाएका छन्।
देउसी–भैलो जस्तै समूहमा भेला भई “नाम्लिङ्गेक, लारिङ्गेक” भन्दै गाउँघर घुम्ने यो पर्व लिम्बू समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको मानिन्छ।
लिम्बू समुदायले बलिहाङ तङ्नाम मनाउने क्रममा च्याब्रुङसहितका मौलिक बाजा बजाउँदै समूहमा नाच्ने चलन छ। टोलभरका महिला र पुरुष एउटै समूहमा भेला भएर गाउँघर घुम्ने गर्छन्।
पर्वका क्रममा एक जना टोली नेताले लिम्बू भाषामै भट्याउँछन् र आशिष पनि आफ्नै भाषामा दिन्छन्। त्योबेला समूहका सदस्यहरू मौलिक पोशाकमा सजिएर आँगन ढाकेर देउसी खेल्दाको दृश्य निकै रमाइलो र आकर्षक देखिन्छ।
राजा बलिहाङको प्रसिद्धि गाउँदै गाउँघर घुमेर रमाउने लिम्बू समुदायका सदस्यहरूले देउसी खेल्नेलाई दानदक्षिणाका रूपमा नाङ्लोभरी चामल, सेलरोटी, पैसा र सगुनका रूपमा जाँडरक्सी टक्र्याउने गर्छन्। किराँत इतिहासका जानकार तथा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगूका अनुसार, लिम्बू समुदायमा भाइटीका लगाउने परम्परा मूल रूपमा थिएन। “लिम्बू संस्कृतिमा चेलीले माइती र माइतीले चेलीलाई फूल दिन हुँदैन भन्ने विश्वास छ। यद्यपि पछिल्लो समय लिम्बू समुदायमा पनि भाइटीका लगाउन थालेका छन्,” उनले भने।
बलिहाङ तङ्नाम कृतिका लेखक तथा लिम्बू भाषा–संस्कृतिका अध्येता हरिचन्द्र लावतीका अनुसार, यो पर्व याक्थुङ (लिम्बू) पात्रोअनुसार चार दिनसम्म मनाइन्छ। लिम्बू समुदायले औंसीका दिन दियो बालेर मन्दिरमा पृथ्वी, सूर्यलगायत ब्रह्माण्डका सबै ग्रहको शान्ति पूजा गर्ने परम्परा रहेको उनले बताए।
पूर्वका मगर, राई र तामाङ समुदायले पनि तिहारलाई मौलिकता जोगाउने पर्वका रूपमा मनाउने गरेका छन्। मगर समुदाय मौलिक पोशाक र भेषभूषामा सजिएर हुर्रा नाच्छन्, राई समुदायले साकेला खेलेर रमाउँछन् भने तामाङ समुदायले डम्फु बजाएर तामाङ सेलो नाच्दै देउसी–भैलो खेल्ने गर्छन्।