विराटनगर । जेनजी आन्दोलनको आडमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गरेको आरोपमा समातिएका भारतीय नागरिक जेल चलान भएका छन्।
ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित शाक्यको घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका भारतको बेतिया जिल्लाका १८ वर्षीय सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार आइतबार अदालतको आदेशबाट उनी जेल चलान भएका हुन्। उनीसँगै पक्राउ परेका अन्य तीन जना भने धरौटीमा रिहा भएका छन्।
चोरीमा संलग्न आरोपमा काभ्रेको रोशी गाउँपालिका–१ का २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनारलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतको आदेश अनुसार लामालाई ६० हजार रुपैयाँ र बाँकी दुई जनालाई जनही ३०/३० हजार धरौटीमा छाडिएको प्रहरीका प्रवक्ता जोशीले बताए।
शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालनमा रहेको ‘रेष्टलस’ नामको एनजीओबाट चोरी भएका सामग्रीमा केही डलर, हितेन्द्रदेवले पाएका दीर्घ सेवा पदक, अवकाश पदक, उनका बाबुले प्राप्त शुभराज्य रोहण पदक, मोबाइल, सुनचाँदीका सिक्का, गहना र अन्य सरसामान रहेका छन्। प्रहरीका अनुसार चोरी तथा तोडफोडबाट १६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री हराएको वा नष्ट भएको अनुमान गरिएको छ।
यसैगरी, जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट गरगहना लुटपाट गरेको आरोपमा पक्राउ गरेका दुई जना पनि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले आपराधिक उपद्रव र डाँका-चोरीको कसुरमा मुद्दा चलेका उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भई धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियारलाई जेल चलान गरेको हो।
उनीहरूलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । तर, दुवैले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ ।
आफ्नो घरबाट ६४ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना लुटिएको दाबी गर्दै कांग्रेस नेता कार्कीले प्रहरीमा जाहेरी दिएका थिए । उनको जाहेरीपछि जिल्ला प्रहरी परिसर ललितपुरले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध जिल्ला सरकारी वकील कार्यालय ललितपुरले मुद्दा दर्ता गरेको थियो ।