मलेसियामा रहेका प्रवासी नेपालीद्वारा इलाममा राहत सहयोग

इलाम । गत असोज १८ गतेको बाढी–पहिरो प्रभावितलाई मलेसियामा रहेका प्रवासी नेपालीहरुले राहत सहयोग गरेका छन् ।

मलेसियास्थित गैर आवसीय नेपाली संघ (एनआरएनए) मलेसिया, विजनेस सोसाइटी मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले इलामको देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका प्रभावितलाई नगद राहत सहयोग गरेका हुन् ।

माङसेबुङ गाउँपालिकाका पहिरोबाट मृत्यु भएका एक परिवारसहित १४ प्रभावितलाई ६० हजार, फाकफोकथुमका पहिरोबाट मृत्यु भएका एक परिवारलाई १० हजार र देउमाईका पहिरोबाट मृत्यु भएका तीन परिवारसहित ६० प्रभावितलाई तीन लाख रुपैयाँ नगद राहत सहयोग उपलब्ध गराएका हुन् ।

सहयोग हस्तान्तरण गर्न मलेसियाबाट एनआरएनएका अध्यक्ष इन्द्र लिम्बू, उपाध्यक्ष बालध्वज लिम्बू र महासचिव प्रमोद शर्मा ढुङ्गाना प्रभावित क्षेत्रमा आएका थिए । उपाध्यक्ष बालध्वज र महासचिव ढुङ्गाना देउमाई निवासी नै हुन् ।

एनआरएनएले विगतदेखि नै विपदमा सहयोग गर्दै आएको जनाउँदै अध्यक्ष इन्द्रले यसपटकको इलाममा पनि सहययोग गर्न आएको बताए । ‘विगतमा हामीले नेपालमा भएका विभिन्न विपदमा सहयोग गर्दै आएका थियौं,’ अध्यक्ष लिम्बूले भने, ‘यसपटक पनि मलेसियमा बस्ने नेपालीहरुको तर्फबाट सहयोग जुटाएर सहयोग उपलब्ध गराएका हौं ।’

राहत वितरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बू, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, पत्रकार कमन देवान, चिरञ्जीवी घिमिरे, राम योङहाङ, रास्वपा इलाम अध्यक्ष टीका ओडारी, जिल्ला सदस्य प्रतिक बोहोरासहित स्थानीयबासीको उपस्थिति थियो ।

एनआरएनएबाट प्रकोप प्रभावितलाई राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बूले पहल गरेका थिए ।

कार्तिक ४, २०८२, दिउँसोको ०३:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर