आज लक्ष्मीपूजा : धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको भक्तिपूर्वक आराधना हुँदै

विराटनगर । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ धन, ऐश्वर्य र समृद्धिकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिभावपूर्वक आराधना गर्दै लक्ष्मीपूजा मनाइँदै छ ।

लक्ष्मीलाई धन र समृद्धिको देवी मानिने धार्मिक विश्वास अनुसार आज घर–घरमा दीपावली, सजावट र पूजा गरी देवी लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

विश्वासअनुसार सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् । त्यसैले आज बिहानैदेखि घर, आँगन, झ्यालढोका र पूजाकोठासहित सम्पूर्ण घर सफा गरी फूलमालाले सजाउने परम्परा छ । श्रद्धालुहरू दिनभर उपवास बसेर बेलुका नुहाइधुवाई गरी देवी लक्ष्मीको आराधना गर्छन् ।

यस अवसरमा धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी आठ रूपमा देवीको पूजा गरिन्छ । स्कन्द पुराण, पद्म पुराण र विष्णु पुराणका अनुसार यी आठ रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षलाई प्रतिनिधित्व गर्छन् ।

कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । यस रात आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटाले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइने परम्परा छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दियो बालेर देवीको आगमन मार्ग देखाइन्छ ।

दीपावलीपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी सुनचाँदीका गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ । आरती र मन्त्रपाठपछि परिवारका सबै सदस्यले प्रसाद ग्रहण गर्छन् । साथै, कन्या र छोरी–चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने परम्परा पनि रहेको छ ।

यस वर्ष कात्तिक १ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो । यो नेपालीको बडा दसैँपछि दोस्रो ठुलो चाड हो । 

यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै सहर, बजार झिलिमिली बनेको छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीले यो पर्व मनाउँछन् ।

कार्तिक ३, २०८२, दिउँसोको ०२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर