विराटनगर । केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दीपक खड्का देश छोडेर भागिसकेको दाबी गरेपछि विभिन्न सञ्चार माध्यमहरूले खड्का अमेरिका पुगेको भन्दै समाचार प्रकाशन गरेका थिए। तर, गृहमन्त्रीको उक्त दाबीलाई खण्डित गर्दै पूर्वमन्त्री खड्का सोमबार आफ्नै घरबाट फेसबुकमार्फत लाइभ आएका छन्, जसले उनी नेपालमै रहेको तथ्य सार्वजनिक भएको छ।
यो घटनाले गृहमन्त्री अर्याल यथार्थ सूचनाको पहुँचमा नभएको गम्भीर आशंका उब्जाएको छ। पूर्वमन्त्री खड्काले आफ्नै घरबाट लाइभमा आएर देशको समसामयिक अवस्था र आफ्नो धारणा राखेपछि गृहमन्त्रीले दिएको बयानमाथि प्रश्न चिन्ह खडा भएको हो।
खड्काले फेसबुक लाइभमा जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि यसमा देखिएका अदृश्य शक्तिहरूका कारण देशको अस्तित्वमाथि नै प्रश्न उठेको बताए। उनले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषयमा पार्टीले निर्णय गर्ने भए पनि यस्ता संवेदनशील विषयमा राजनीतिक दलहरूले समान धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्वमन्त्री खड्का नेपालमै रहेको तथ्य सार्वजनिक भइसकेपछि गृहमन्त्री अर्यालको भनाइ कि त गलत सूचनामा आधारित थियो कि त उनी जानीबुझी गलत भ्रम फैलाउँदै दलहरूलाई सरकारमा बसेर बदनाम गर्ने प्रयत्न गरिरहेका छन् भन्ने आशंका बढेको छ। यस सम्बन्धमा गृहमन्त्री अर्यालले आफ्नो सूचनाको वास्तविकताका बारेमा जनतालाई स्पष्ट पार्नुपर्ने देखिएको छ।