विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना विरुद्धमा मुद्दा दायर गरेको विषयमा कोशी अस्पतालको मेसु एवं पूर्वसचिव डा. संगीता मिश्रले नियोजित षड्यन्त्र भएको बताएकी छिन् ।
अख्तियारले मिश्रासहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मिश्राले कोशी अस्पतालको मेसु रहँदा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा मिलेमतो गरी राज्यलाई करिब १४ करोड रुपैयाँ हानि–नोक्सानी पुर्याएको अख्तियारको आरोप छ।
डा मिश्राले भने आफूमाथि लागेको आरोपलाई ‘स्थायी सत्ता र स्वार्थ समूहले गरेको नियोजित षड्यन्त्र’ को संज्ञा दिँदै आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताएकी छन्।
मुद्दा दायर भएलगत्तै डा. संगीता मिश्राले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि सुरुदेखि नै षड्यन्त्र भइरहेको दाबी गरेकी छन्। उनले भनेकी छन्, ‘म २०७० सालमा स्वास्थ्य मन्त्रालयको उच्च तहमा खुला प्रतिस्पर्धाबाट पुगेदेखि नै यहाँको स्थायी सत्ता, नेता र दलाल बिचौलियाहरूलाई पचेको थिएन। सीमान्तीकृत समुदायको एउटा महिलालाई सुरुदेखि नै तथ्यहीन आरोपमा फसाउने षड्यन्त्र भयो।’
उनले आफूले स्वास्थ्य क्षेत्रमा व्याप्त नीतिगत भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र स्वार्थ समूहविरुद्ध निरन्तर आवाज उठाउँदा केही पूर्व स्वास्थ्यमन्त्री, भ्रष्ट कर्मचारी र नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूले आफूलाई समाप्त पार्ने प्रयास गरिरहेको बताएकी छन्।
उनले पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलमाथि गम्भीर आरोप लगाउँदै स्वास्थ्य सचिव पदोन्नतिमा आफूसँग ‘गैरकानुनी र अस्वाभाविक माग’ गरेको र त्यो पूरा नगर्दा आफूभन्दा पछाडिका व्यक्तिलाई बढुवा गरिएको दाबी गरेकी छन्।
जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारमा डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेको थियो। प्रधानमन्त्रीले उनको नाम मन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेका थिए। तर, शपथग्रहणकै दिन अख्तियारमा उजुरी र नागरिकताको विषयलाई लिएर ‘पेड मिडिया ट्रायल’ चलाइएको र आफ्नो शपथग्रहण रोकिएको उनको भनाइ छ।
उनले विज्ञप्तिमा भनेकी छन्, ‘स्वयं प्रदीप पौडेल र एनएमएका पदाधिकारी राष्ट्रपति कार्यालयमा शपथग्रहण स्थगित गराउन भौतिक रूपमा आग्रह गर्न पुगेको जानकारी समेत भयो ।’ आफ्नो नियुक्ति रोकिएपछि नै अख्तियारले अनुसन्धानलाई तीव्रता दिएको र मुद्दा दायर गरेको उनको आशय छ।
डा. मिश्राले खरिद प्रक्रियामा कार्यालय प्रमुखको आधारमा आफ्नो जिम्मेवारी स्वाभाविक भए पनि आफ्नो नैतिक धरातल बलियो रहेको र आफू निर्दोष रहेको बताएकी छन्। उनले देशको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको र अब कानुनी बाटोबाट लड्ने अठोट व्यक्त गरेकी छन्।
‘यस प्रायोजित षड्यन्त्रले मेरो आत्मबललाई अझ बलियो बनाएको छ,’ उनले भनेकी छन्, ‘मैले छिट्टै स्वास्थ्य मन्त्रालयमा व्याप्त स्वार्थ समूहहरू र अभियोजनको क्रममा देखिएको अस्वाभाविक क्रियाकलापको विस्तृत जानकारी (पात्र र घटना सहित) उपयुक्त समयमा उजागर गर्नेछु।’