विराटनगर । मोरङ पथरी शनिश्चरे–१ निवासी खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मका नेपालको बैंकको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेका छन् ।
पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास पनि समेटिएको छ । ‘नेपालको बैङ्किङ इतिहास’ नामक सो पुस्तक बजारमा आइपुगेको उनले बताए । पुस्तकमा नेपालका ‘क’ र ‘ख’ श्रेणीका बैङ्कहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको विषय पनि उल्लेख छ । यस्तै १० वर्षको माओवादी सशस्त्र द्वन्द्वकालमा बैंकमा भएको आक्रमण, नेपाली बैंक मर्जरको इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैंक खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङिकङ क्षेत्रका अगुवा बिके श्रेष्ठलगायतका इतिहास पुस्तकमा छ ।
पुस्तकमा नेपाली बैंङ्कले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, विपत्तमा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुनहरू, खारेज भएका बैंकहरू, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकालदेखिका मुद्रा खोज गरि लेखिएको छ ।
भोजपुरको टक्सारको इतिहास, पूर्वमा खुलेका बैङ्कहरू, बैङिकङ क्षेत्रमा महिला सहभागीताको विषय पनि पुस्तकमा उल्लेख छ । पुस्तकमा विभिन्न ५१ बटा विषयमा समेटिएको उनले जनाए । २७२ पेजको पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैंकमा भएको क्षतिको बिषयमा पनि खोज गरि लेखिएको छ ।
तिम्सिनाको यो १४ औं पुस्तक हो । उक्त पुस्तक झापा दमकको स्रष्टा छापाखानाले छापेको हो भने निर्देशक लिला निरौला रहेका छन् । तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखनमा लागेका छन् ।