विराटनगरबाट स्रोत नखुलेको नेपाली र भारतीय नक्कली नोटसहित तीन जना पक्राउ

विराटनगर । भारतीय नक्कली नोटसहित प्रहरीले विराटनगर बसपार्कबाट दुई जनालाई पक्राउ गरेको छ ।

भारतको बिहार राज्य अन्तरगत अररिया जिल्लाका मोहमद अरवाज र मोहमद रजालाई दुई सय दरका १८ थान र पाँच सय दरको एक थान भारतीय नक्कली नोटसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेका दुवै जना भारतको जोगवनीबाट सिटी सफारीमार्फत विराटनगर आएका थिए । सफारी चालकलाई अरवाजले दिएको भारतीय दुई सय रुपियाँको नोट नक्कलीजस्तो देखिएपछि सफारी चालकले प्रहरीलाई खबर गरेका थिए ।

यसैबिच प्रहरीले विराटनगर–१२ सैनिक टोलबाट स्रोत नखुलेको आठ लाख ४७ हजार रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बीआर ३८ भी ३३२८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका मोटरसाइकल चालक मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले हेलमेटमा लुकाएर ल्याएको एक हजार दरका ८ सय, पाँच सय दरका ५१, एक सय दरका १४६ र ५० दरका १०२ थान नेपाली नोट बरामद भएको हो ।

रकमसहित पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।

कार्तिक २, २०८२, दिउँसोको ०१:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर