चौदण्डीगढीमा मेयर र उपमेयर कार्यक्रमबाट लखेटिए

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित एक कार्यक्रममा युवाहरुले अवरोध गरेपछि मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलाल कार्यक्रम स्थलबाट बाहिरिन बाध्य भएका छन् । नगरपालिकाको वडा नम्बर ९ र १० द्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा युवाहरुले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’भन्दै नाराबाजी गरेका थिए ।
घटना चौदण्डीगढी–१० को हडिया बजारमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार, कार्यक्रम सुरु भएलगत्तै केही युवाहरुले होहल्ला गर्दै माइकको तार थुतिदिएका थिए र मञ्चमा राखिएका कुर्सी र टेबल हटाइदिएका थिए ।
चौदण्डीगढी–९ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतका अनुसार, उनी बोलिरहेको बेला एक युवाले आएर होहल्ला गरेका थिए । त्यसपछि ९–१० जनाको समूहमा आएका युवाहरुले कार्यक्रममा अवरोध पुर्‍याएका थिए । युवाहरुको विरोध र होहल्ला बढेपछि मेयर लामा, उपमेयर दुलाल लगायतका जनप्रतिनिधिहरु कार्यक्रम स्थलबाट तितरबितर भएका थिए ।
वडाध्यक्ष राउतले आफूलाई मेयर लामाले ४ दिनअघि फोन गरेर वडा नम्बर ९ र १० को संयुक्त शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न भनेको बताए । यद्यपि, देशको परिस्थितिलाई कारण देखाउँदै आफूले कार्यक्रम नगरौँ भनेको तर आज बिहान एक्कासी कार्यक्रम सुरु भएको जानकारी पाएको उनले बताए । कार्यक्रममा ढिलो गरी पुगेका राउतले बोल्न थाल्नेबित्तिकै होहल्ला सुरु भएको थियो ।

कार्तिक २, २०८२, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर