रहस्यमय हत्याको सफल अनुसन्धानले दिलायो प्रहरी निरीक्षक कुँवरलाई ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’

विराटनगर । जटिल र रहस्यमय अपराधको सफल अनुसन्धानमार्फत व्यावसायिक उत्कृष्टता प्रदर्शन गरेका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिवश कुँवर प्रतिष्ठित ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ बाट सम्मानित भएका छन्।

७० औं प्रहरी दिवसको अवसरमा शुक्रबार कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित समारोहमा उनलाई पुरस्कृत गरिएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीमा कार्यरत कुँवरलाई कुनै पनि सबुत र पहिचान खुल्ने प्रमाण नभेटिएको एक रहस्यमय हत्याको गुत्थी सुल्झाउन सफल भएबापत उक्त पुरस्कार प्रदान गरिएको हो। उनीसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायब निरीक्षक निरबहादुर खड्काले पनि यो प्रतिष्ठित सम्मान प्राप्त गरे। पुरस्कार कोषका संस्थापक तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर विक्रमप्रसाद श्रेष्ठले उनीहरूलाई पुरस्कार प्रदान गरे।

जटिल हत्या अनुसन्धानको कदर
प्रहरी निरीक्षक कुँवरले २०८१ चैत २५ गते सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित जङ्गलमा एक महिलाको शङ्कास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको नेतृत्व गरेका थिए। कुनै पनि सबुत र पहिचान खुल्ने प्रमाण नभएको उक्त रहस्यमय घटनाको अनुसन्धानलाई उनले आफ्नो सूक्ष्म विश्लेषण र अनुसन्धान कौशल प्रयोग गर्दै अगाडि बढाएका थिए।

उनको नेतृत्वमा भएको अनुसन्धानबाट मृतकको पहिचान धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको रूपमा खुलेको थियो। त्यति मात्र नभई, उनको हत्यामा संलग्न सात जनाको पहिचान गरी पाँच जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल भएका थिए। यही उत्कृष्ट र प्रशंसनीय कार्यको कदर गर्दै उनलाई छनोट समितिले पुरस्कारका लागि चयन गरेको हो।

के हो ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. श्रेष्ठले आफ्नी ममतामयी स्वर्गीय आमा साधनादेवी श्रेष्ठको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। २०७१ सालमा ५० हजार रुपैयाँबाट सुरु भएको यो पुरस्कारको राशि प्रत्येक वर्ष १० हजारले वृद्धि हुँदै हाल एक लाख रुपैयाँ पुगेको छ। यस वर्षको एक लाख राशिको पुरस्कार प्रहरी निरीक्षक कुँवर र प्रहरी नायब निरीक्षक खड्कालाई प्रदान गरिएको हो, जसमा कुँवरले ५० हजार रुपैयाँ प्राप्त गरे।

प्रदेशभरिबाट उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूमध्येबाट छनोट समितिले विजेता चयन गर्ने यो पुरस्कारले प्रहरीको मनोबल बढाउन र व्यावसायिकतालाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

अशोज ३१, २०८२, रातीको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर