चन्द्र पौडेल
यो कस्तो मेरो जात हो ?
बिदेशमा चल्ने,स्वदेशमा न चल्ने ।
रक्सी भट्टिमा चल्ने ,चिया पसलमा न चल्ने।
होटेलमा चल्ने ,घरमा न चल्ने।
कस्तो बिडम्बना, मेरो जवानि चल्ने ,
तर मेरो जात नचल्ने।
जनावर चल्ने ,मान्छे न चल्ने।
खोलारनदिमा चल्ने,कुवा धारामा नचल्ने ।
रगत चल्ने ,पानी नचल्ने ।
श्रमरसीप चल्ने ,मान्छे नचल्ने ।
एउटै धर्ममा एउटालाई चल्ने,अर्कोलाई नचल्ने।
मायाँमा जातभात हुन्न भन्दै अन्तरजातीय बिहे गर्ने हरुलाई सके मारेर फाल्छन, कुटपिट गर्छन, जीवन भर ती जोडीलाई माईत आउन बन्द गर्छन । अलिकति रगतको नाता पनि याद आएन ? अलिकति आफ्नो सन्तानको खुसि पनि देख्न मन लागेन है ? सीप चल्ने, सहयोग चल्ने, रगत चल्ने तर पानी नचल्ने यो कस्तो अचम्म ? हिजो आज धेरै यस्ता जातीय पिडाले नयाँ पुस्ता रोईरहेको छ कहिलेसम्म हो ? कठै मेरो २१ औं शताब्दीको नेपाली समाज !
हामी हरेक दिन परिबर्तन, बिकास, र नयांँ युगको कुरा गर्छौ ! यो समयको माग हो, समयसंगै परिवर्तनशिल हुनु यथार्थ पनि हो। तर हामी आज पनि यस्तो सोच लिएर अगाडि बढी रहेका छौ, जहाँ बुद्धि बिवेक र क्षमताको आधारमा होइन जातको आधारमा मानिसलाई छुटाइन्छ।मानवतावाद भन्दा ठूलो दर्शन धर्म र विज्ञान अर्को छैन ।
अरु सिद्धान्त, दर्शन र नीति केवल मानवीय धर्मका पुरक र परिपुरक हुन मान्छेको सबैभन्दा ठूलो दर्शन मानवतावाद हो । अनि जात केवल मान्छे हो । मान्छेको दुई जात हुन्छ स्त्रिलिंग र पुलिंग अरु जात केवल पहिचानका लागि हुन विभेद र असमानताको लागि किमार्थ होइन ? दुर्भाग्य हामी मानवतावाद भन्दा पनि ठूलो अमानवीय जातीवादको पर्खाल जहाँ छुवाछुत र विभेद छ, अन्याय र दलन छ त्यही अभ्यासमा आज पनि छौं । फलस्वरूप जातीय भेद, हिँसा हत्या र निक्रिस्ट पाखण्डलाई जीवन शैलीमा उतारेर आफू जस्तै अर्को मानव समुदायप्रति अत्याचारको घन चलाएर हिर्काइ रहेछौ ।
हामीले सधैफेसबुक र मुखमा समानता देखेकै छौ, बोले जस्तै ब्यबहारिक रुपमा हुने हो भने सायद फोटोमा देखिने विभेदका देशको कथा बन्ने छन् । दलित हितमा काम गर्ने धेरै डलरबादीहरु छन, जो शहर केन्द्रित रहेर महङ्गो भाडा तिर्दै आफ्नै गोजी भर्न मात्र सिमित छन् । यति बेला नेपाली शिक्षालाई सम्झिन चाहे किताबका पानामा समानता देखाउने अनि घरमा गएर उहीँ पुरानै बाउ बाजेको बिडो थाम्ने । यहि हो नेपाली समानताको शिक्षा गुरु ? छुवाछूत हटाउन निकै गीत बने, चलचित्र बने र साहित्यकारहरु पनि धेरै आए तर सबैले नेपाली समाजमा देखिने समस्या मात्र देखाए तर समाधान कसरी गर्ने र समानता ल्याउने भनेर कहिलै गीत गाएनन् र चलचित्र पनि बनेनन् ।
कृपया ’ स्कुले जिवनमा दिइने छात्रवृत्ति जातियताको आधारमा हैन वर्गीइ रुपमा दिनुपर्छ । सके छुवाछूतका बिषयमा पढाइ गराउनु हुन्न । किन कि ती कलिला बालबालिकाको मानसिकतामा असर पर्छ । स्कुलबाट नै हामी सबै नेपाली भन्ने शिक्षा ब्यबहारिक रुपमा दिनु जरुरी छ । जबसम्म नेपाली समाजमा जातीय विभेद हट्दैन तबसम्म देश विकास हुन्न भन्ने सोच्न जरुरी छ । जातीय भेदको भाइरस यति डरलाग्दो र घिनलाग्दो छ । जसले प्रेमको बदला मृत्यु उपहार दिन्छ । प्रिय नवराज तिम्रो सहादत प्रेमको मुल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो। हार्दिक श्रद्धाञ्जली नवराज !
नवराज तिम्रो मृत्यु यस्तो ठाउँ र यस्ता मान्छेहरुको राजनीति भएको ठाउँमा भयो त्यहाँ आज पनि यस्तो विकृत मनोविज्ञान छ भन्दा देस त के विश्व पनि लजाउछ र अचम्म मान्छ । कारण रुकुम माओवादी जनयुद्दको केन्द्र भाग जहाँ जनार्दन शर्मा जस्ता माओवादी हस्ती छन् । शक्ति बस्नेत जस्ता बहालवाला मन्त्रीलाई संघीय संसद निर्वाचित गर्ने क्षेत्र । जातीय भेद खत्तम गर्ने नारा लागेर जनता लामवद्द भएको स्थान । जहाँ अन्धविश्वास र कुरिति चिहानमा खोज्दा पनि नभेटिनु पर्ने राजनीतिको उर्वर भूमिआज त्यहाँ अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने तयारी गर्दा मान्छे मारिनु पर्ने ? कतिसम्म स्वार्थ हो नेपाली समाज । बेला मौकामा मैले फेसबुकमा जातिय कुरा उठाउदा रिसले चुर हुँदै किन जातको मात्र कुरा गरेको अब सबै समान हो भन्ने मित्रहरुलाई मैले बारम्बार भन्ने गर्छु मलाई यहाँ हामी सबै एकै हौ भने जसरी आफ्ना गाउँ दलितहरुलाई समानता दिनुस् । अरे यार, नयाँ जमाना हो । कस्ले किन कसरी बिभेद र छुवाछूत गरे पलभरमै सबैलाई थाहा हुन्छ । मायाँमा जातभात हुन्न भन्दै अन्तरजातीय बिहे गर्ने हरुलाई सके मारेर फाल्छन, कुटपिट गर्छन, जीवन भर ती जोडीलाई माईत आउन बन्द गर्छन् ।
अलिकति रगतको नाता पनि याद आएन ? अलिकति आफ्नो सन्तानको खुसि पनि देख्न मन लागेन है ? हिजो आज धेरै यस्ता जातीय पिडाले नयाँ पुस्ता रोईरहेको छ कहिलेसम्म हो ? कठै मेरो २१ औं शताब्दीको नेपाली समाज ! सरकार लगायत सम्बन्धित निकायले गम्भीर रुपमा सोच्ने बेला आएको छ। अब छुवाछूत मुक्त समाज कागजमा मात्र होइन, व्यबहारमा कसरी ल्याउन सकिन्छ। यो सम्बन्धि नियम कानुन र सोच परिवर्तनको लागि जनचेतना अझै प्रभावकारी ढंगबाट गर्न सके परिवर्तन सम्भब छ।
अन्तमा, यो समाजमा थुप्रै महान सोच र उच्च विचार भएका ब्यक्तिहरु हुनु हुन्छ। उहाँले छुवाछूत अन्त्यको लागि महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। केही ब्यक्तिहरुमा यो सोच छ जुन परिवर्तन हुन जरुरी छ। सम्भव छ परिवर्तन हाम्रै पालामा ।