विराटनगर । पहिलो हाफको अतिरिक्त समयमा गरिएको एक मात्र निर्णायक गोलको मद्दतले प्लानिङ ब्वाइज युनाइटेड क्बल बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा धनकुटाको रारा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट गोलका लागि उत्कृष्ट प्रयासहरू भए पनि धनकुटा खेलाडी फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरियो । मैदानमा उपस्थित दर्शकहरूले कडा प्रतिस्पर्धाको अपेक्षा गरेअनुरुप नै दुवै टोलीले रक्षात्मक र आक्रामक खेल प्रदर्शन गरेका थिए । थुप्रै अवसरहरू सिर्जना भए पनि गोल हुन नसक्दा खेलको रोमाञ्चकता अन्तिम समयसम्म कायम रहेको थियो ।
पहिलो हाफको अतिरिक्त समयको खेलमा प्लानिङ ब्वाइजका लागि सविन लुङ्गेली मगर नायक बने । उनले गरेको सुन्दर गोलले रारा फुटबल क्लबलाई स्तब्ध बनाउँदै आफ्नो टोलीलाई अविस्मरणीय जित दिलाए । यही निर्णायक गोल नै खेलको छिनोफानो गर्ने एकमात्र गोल बन्यो । खेलको म्यान अफ द म्याच पनि विजयी गोलकर्ता लुङ्गेली मगर नै घोषित भए । उनले पुरस्कार स्वरूप नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
यो जितसँगै प्लानिङ ब्वाइज युनाइटेडले फाइनल प्रवेशका लागि आयोजक एल.एक्स. सिटि फुटबल क्लबसँग असोज ३० गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हुने अन्तिम क्वाटरफाइनल खेलमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लब र सिरहाको सहलेश युथ क्लब भिड्नेछन् ।