मध्यरातमा प्रहरीको पोसाक लगाएर चोर आएपछि….

काठमाडौं । चितवनको कालिका नगरपालिका–६, सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीको पोसाक लगाएर चोरीको प्रयास भएको छ ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा प्रहरीको ड्रेस लगाएर चोरी गर्ने समूह पुगेको हो । खतिवडासँग जम्काभेट भएपछि उनीहरू आफूलाई प्रहरी भन्दै उम्किएका थिए ।

‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो’ खतिवडाले भने, ‘घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । घरबाट पर अँधेरोमा केही चिज रोकेर राखेको देखिेपछि अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरन्डाबाट आँगनमा निस्किएको देखेँ ।’

एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएर बोल्न नसकेको बताउँदै उनले ती व्यक्तिले कारागारबाट भागेको कैदी लुकेको छ भन्ने सूचना आएपछि खोजी गर्न आएको बताएको जानकारी दिए । त्यसपछि आफू आत्तिएर काको घरतर्फ गएको र उनीहरु मोटरसाइकलमा चढेर भागेको उनको भनाइ छ ।

खतिवडाका अनुसार उनीहरूले आफूहरू प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी लुकेको देखाएकाले खोज्दै आएको बताएका थिए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको उनको भनाइ छ ।

राति नै प्रहरीलाई खबर गरी घटना विवरण सुनाएको उनले जानकारी दिए । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखिएको खतिवडाको भनाइ छ । काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको उनले बताए ।

बत्ती निभाएर चोर्ने नियतले घरमा पसेका उनीहरु जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए । इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन गरिएको जानकारी दिए । घटनाको अध्ययन थालिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले फरार कैदीबन्दी हुनसक्ने आशंकाबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए ।

अशोज २८, २०८२, दिउँसोको ०२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर