विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच रिट दायर भएका छन् । मंगलबार बिहान अदालत खुलेलगत्तै रिट दायर भएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सर्वोच्च अदालतमा पनि आगजनी गरेपछि अदालतले रिट दर्ता बन्द गरेको थियो । मंगलबारबाट रिट दर्ता अदालतले खुल्ला गर्नसाथ रिट दर्ता भएको हो ।
पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट परेको छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो, विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा रिट परेको छ ।
प्रतिनिधि सभा विघटनविरूद्ध रिट पर्ने क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। दर्ता भएका कतिपय रिटमा सरकार असंवैधानिक रहेकोले खारेज गर्न मागसमेत गरिएको छ ।
रिट अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्ने सर्वोच्च्का प्रवक्ता कोइरालाले बताएका छन् । आन्दोलनमा जलाएर ध्वस्त पारिएको सर्वोच्च अदालतका ८० प्रतिशत मुद्दाका मिसिल जलेकोले पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्था छ ।
जेनजी प्रदर्शनपछि भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकेका थिए।
असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो ।
यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए ।