तस्करीको फूलसहित गाडी नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको फूल तथा अन्य सामग्रीसहित एउटा पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार राति ११ः२५ बजे विराटनगर महानगरपालिका वडा नं. ०४ स्थित बरगाछी चोकबाट गाडी नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त गाडीमा अवैध रुपमा ल्याइएको फूलसहित अन्य सामग्री भेटिएको प्रहरीले जनाएको छ ।

को २ च १६१४ नम्बरको महिन्द्रा पिकअप गाडीमा लोड गरिएको करिब १ लाख १० हजार रुपैयाँ बराबरको सयपत्री फूलका मालाहरू भेटिएका थिए। फूलका साथै बन्डिक तार र ७० के.जी. लुगा धुने सर्फसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

चाडपर्वमा स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन र विदेशी मुद्रा बाहिरिन नदिन सरकारले निश्चित समयका लागि फूलको आयातमा रोक लगाएको छ। यसरी अवैध रूपमा भित्र्याइएको फूलले स्थानीय किसान र बजारलाई नकारात्मक असर पुर्‍याउने भएकोले सरकारले फूल आयातमा कडाइ गर्दै आएको हो ।

प्रारम्भिक अनुसन्धान भारतबाट नेपालतर्फ तस्करी गरी ल्याइँदै गरेको उक्त गाडी सुनसरीको देवानगंज हुँदै विराटनगरतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रण गरेको हो । प्रहरीले सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं.२ का २१ वर्षीय सगुन यादवलाई नियन्त्रणमा लिएको छ। यादव उक्त पिकअप गाडीका चालक हुन्।

बरामद गरिएका फूल, बन्डिक तार, लुगा धुने सर्फ र पिकअप गाडीसहित चालक यादवलाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

अशोज २८, २०८२, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर