सदस्य सचिवमा कसले मार्ला बाजी ?, कोशी प्रदेश खेलकुदमा फेरि पनि भागबण्डाकै चलखेल

एमालेबाट तीन, काँग्रेसबाट एकको सशक्त दाबेदारी

विराटनगर । कृष्ण बस्नेत ‘पर्शुराम’को कार्यकाल सकिएसँगै रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदका लागि राजनीतिक वृत्त र खेलकुद क्षेत्रमा सरगर्मी बढेको छ ।

प्रदेशको खेलकुद क्षेत्रलाई नेतृत्व प्रदान गर्ने यो पदमा कसलाई ल्याइन्छ भन्ने विषय यतिबेला चासो बढेको छ । किनकि यसले प्रदेशको खेलकुदको भविष्य र दिशा निर्धारण गर्ने खेल क्षेत्रका विज्ञहरुको भनाइ छ ।

कोशी प्रदेशमा हाल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार छ । यही राजनीतिक समीकरणले सदस्य सचिव नियुक्तिमा भागबण्डा गरेर चलाउने दाउ उनीहरुले खोजिरहेका छन् । जेनजी आन्दोलपछि योग्यहरुलाई यस्ता नियुक्तिहरुमा सहभागी गराउनु पर्ने माग उठिरहेको भएपनि सरकारमा भएका दुई प्रमुख दलको ध्यान भने कसरी उक्त पद आफूले हत्याउने भन्नेमै केन्द्रित रहेको देखिएको छ ।

प्रदेश सरकारको नेतृत्व र खेलकुद क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालय एमालेको जिम्मामा रहेकाले उसले यो पद आफूले पाउनुपर्ने दाबी गरिरहेको छ भने। अर्कोतर्फ, कांग्रेसले अघिल्लो कार्यकालमा एमालेबाट सदस्य सचिव भइसकेकाले यसपटक पालो आफ्नो हुनुपर्ने अडान राखेको छ । यो राजनीतिक रस्साकस्सीका बीच खेलकुद क्षेत्रका व्यक्तिहरु भने राजनीतिक भागबन्डाभन्दा माथि उठेर नियुक्ति गर्नुपर्ने बताइरहेका छन् ।

एमालेबाट तीन, कांग्रेसबाट एकको नाम चर्चामा
सदस्य सचिव पदका लागि सत्तारुढ दलहरूबाट सम्भावित उम्मेदवारहरूको नाम चर्चामा आउन थालेको छ । नेकपा एमाले भित्रबाट तीन जनाको नाम प्रमुख रूपमा अगाडि आएको छ ।

सबैभन्दा अग्रपंक्तिमा सुनसरीको इनरुवा निवासी विप्लव घोषको नाम छ । करातेका पूर्वखेलाडी घोष एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज हुन् । खेलकुद महासंघमा उनको सक्रिय भूमिका र राजनीतिक पहुँचका कारण उनलाई बलियो दाबेदार मानिएको छ । लामो समयदेखि क्रिकेट क्षेत्रको विकासमा समर्पित घोषले खेलकुदको व्यवस्थापकीय पक्षमा अनुभव बटुलेका छन् ।

त्यसैगरी, एमालेबाटै मोरङका मुकेश बुढाथोकी र रविन थापाको नाम पनि चर्चामा छ । बुढाथोकी करातेका पूर्वखेलाडी हुन् भने थापा खेलकुद एकेडेमी सञ्चालन गरेर खेल क्षेत्रमै क्रियाशील छन् । थापा केही समयअघि एमाले मोरङको सचिव पदमा सोमराज थापासँग पराजित भएका थिए । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन उनीहरूमध्ये एकलाई अघि सार्न सकिने अनुमान पनि गरिएको छ ।

यता, नेपाली कांग्रेसबाट धरान निवासी पूर्वफुटबल खेलाडी किशोर राईको नाम चर्चामा छ । खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय राई आफ्नो स्पष्ट वक्ता र जुझारु छविका लागि परिचित छन् । कांग्रेसले यसपटक कुनै पनि हालतमा सदस्य सचिव पद नछाड्ने रणनीति बनाएकाले राईलाई सशक्त रूपमा अघि सारेको छ ।

राजनीतिक दाउपेच चलिरहँदा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले भने रिक्त रहेको बोर्डले चाँडै पूर्णता पाउने बताएका छन् । उनले भने, “मन्त्रालयले केही दिनभित्रै खेलकुद क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई नै सदस्य सचिवसहित बोर्डका पदाधिकारी र सदस्यहरू नियुक्त गर्नेछ । बोर्डको ऐन र नियमावलीअनुसार नै नियुक्ति प्रक्रिया अगाडि बढ्छ ।”

नियमावलीअनुसार सदस्य सचिव बन्न ३५ वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको र खेलकुदको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान छ । यसअघि शैक्षिक योग्यताको स्पष्ट मापदण्ड नभए पनि अब ऐन र नियमअनुसार नै अघि बढ्ने मन्त्री राईको भनाइले शैक्षिक योग्यतालाई पनि ध्यान दिइने संकेत गरेको छ ।

खेलकुद क्षेत्र बुझेको आउनुपर्ने खेलकर्मीको माग
राजनीतिक नेतृत्वले नियुक्तिको आश्वासन दिइरहँदा खेल क्षेत्रका अगुवाहरू भने यसपटक कुनै पनि राजनीतिक दबाब वा भागबन्डा स्वीकार्य नहुने चेतावनी दिइरहेका छन् । उनीहरूले खेलकुद क्षेत्रमा हुँदै आएको राजनीतिक भागबन्डा र अयोग्य कार्यकर्ताको नियुक्ति तत्काल बन्द गरेर खेलकुदलाई साँच्चिकै बुझेका प्रशिक्षक, पूर्वखेलाडी वा सक्षम व्यवस्थापकलाई जिम्मेवारी दिनुपर्ने माग गरेका छन् ।

कराते महासंघ कोशीका सचिव तथा अन्तर्राष्ट्रिय खेलाडी राम लिम्बूले पार्टीको झोला बोक्ने कार्यकर्ताका कारण खेलकुद क्षेत्र तहसनहस भएको आरोप लगाए । उनले भने, “विगतमा राजनीतिक नियुक्ति पाएकाहरूले प्रदेशको खेलकुदलाई कसरी पछाडि धकेले भन्ने हामीले देखेका छौं । अब खेलाडीहरू चुप लागेर बस्दैनन् ।” उनले थपे, “जेनजी आन्दोलनले भ्रष्टाचारको दिन सकिएको सन्देश दिएको छ । अब खेलकुदमा पनि शुद्धीकरण आवश्यक छ । कोशी प्रदेश खेलकुद विकास बोर्ड होस् वा जिल्ला खेलकुद विकास समिति, सबैतिर खेल बुझेका पूर्वखेलाडीलाई नियुक्ति गरियोस्, नत्र हामी बहिष्कारको अभियान सुरु गर्छौं ।”

खेलकर्मीहरूले प्रदेश र संघीय सरकारलाई योग्यता र योगदानको आधारमा मात्र नियुक्ति गर्न माग गर्दै अन्यथा यसले खेल क्षेत्रमा दीर्घकालीन क्षति पु¥याउने बताएका छन् । यसअघि पार्टीको कार्यकर्ता सदस्य सचिव नियुक्त गर्दा कोशी प्रदेशको खेलकुदले आशाजनक सम्भावनाहरू गुमाएको र संस्थागत अराजकताको जग बलियो बनेको उनीहरूको तीतो अनुभव छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवको नियुक्ति केवल एउटा पदपूर्ति मात्र होइन, यो प्रदेशको समग्र खेलकुदको भविष्यसँग जोडिएको विषय भएकाले खेलकुद क्षेत्र बुझेका व्यक्ति आउनुपर्ने नेपाल राष्ट्रिय खेलकुद परिषदको पूर्व सदस्य तथा पुर्व रेफ्री किरण गिरीले बताए ।

‘एकातिर राजनीतिक दलहरू आफ्नो शक्ति र पहुँच देखाउन यो पदमा आफ्नो मान्छे ल्याउन चाहन्छन् भने, अर्कोतिर खेलकर्मीहरू दशकौंदेखि चल्दै आएको राजनीतिक हस्तक्षेपको अन्त्य चाहन्छन् । अबको नेतृत्वले खेलाडीको मनोबल उच्च राख्ने, पूर्वाधार विकासमा ध्यान दिने, प्रतियोगिताहरू आयोजना गर्ने र राष्ट्रिय खेलकुदजस्ता महत्त्वपूर्ण प्रतियोगिताका लागि प्रदेशलाई तयार पार्ने गहन जिम्मेवारी बोक्नुपर्नेछ,’ उनले भने, ‘तसर्थ, सरकारले राजनीतिक स्वार्थभन्दा माथि उठेर खेलकुदको मर्म बुझ्ने, दूरदृष्टि भएको र सबैलाई मिलाएर लैजान सक्ने सक्षम व्यक्तिलाई नियुक्त गर्नु नै प्रदेशको खेलकुद क्षेत्रको हितमा हुनेछ । अन्यथा, यो नियुक्तिले केवल विवाद र निराशा मात्र जन्माउनेछ,’ ।

अशोज २७, २०८२, साँझको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर