गोलरक्षक समीर बने नायक, टाइब्रेकरमा झापालाई स्तब्ध पार्दै भोजपुर सेमिफाइनलमा

विराटनगर । मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी आठौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपमा झापा ११ लाई टाइब्रेकरमा पराजित गर्दै भोजपुर सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको रोमाञ्चक खेलमा गोलरक्षक समीर क्षेत्री नायक बन्दा भोजपुरले झापालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले स्तब्ध बनायो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि नतिजाको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा भोजपुरका लागि विबेक राई, धिरेन क्षेत्री, विवेक राई (बि), मिसाज लिम्बू र सुजन चौधरीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । झापाका सिमान्त थापामगरले प्रहार गरेको बल भोजपुरका गोलरक्षक समीरले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए । झापाका तर्फबाट मुसा कामाकाट, एरोन थापा मगर, पेमा तामाङ र सुमन थापाले मात्र गोल गर्न सके ।

त्यसअघि, खेलको ३९ औं मिनेटमा झापाका एरोन थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, झापाको त्यो अग्रता एक मिनेट पनि टिक्न सकेन । लगत्तै ४० औं मिनेटमा भोजपुरका मिलन लिम्बुले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा झापाले पाएका थुप्रै अवसरहरू गुमाउँदा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको २१ औं मिनेटमा झापाका एरोन थापा मगरको शक्तिशाली प्रहारलाई भोजपुरका गोलरक्षक समीर क्षेत्रीले पन्च गरेर उत्कृष्ट बचाउ गरेका थिए । लगत्तै भोजपुरका मिलन लिम्बुको सशक्त प्रहार बाहिरिँदा भोजपुरले पनि जितका लागि टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।

खेलको नायक बनेका भोजपुरका गोलरक्षक समीर क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भए । मंगलबारको खेल रारा फुटबल क्लब, राजारानी धनकुटा र ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

अशोज २७, २०८२, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर