विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जेनजीका समूहहरु गठन हुने क्रममा नेकपा माओवादी केन्द्र निकट जेनजीहरुले ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य स्मृति निमल्सिना फोर्स गठन गरेको बताएकी छन् । आफ्नो अगुवाइमा गठन भएको फोर्सको अहिले जिल्ला र प्रदेश संयोजक तोक्ने काम भइरहेको उनको भनाइ छ ।
परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने, मुलुकलाई दिर्घकालिन निकाको लागि प्रत्यक्ष कार्यकारी शासकीय प्रणालीमा लैजाने तथा युवाहरुको नेतृत्व राजनीतिक दलमा स्थापित गर्ने उद्देश्यले फोर्स गठन गरेको उनको भनाइ छ । माओवादी पार्टीभित्र रहेकोक व्यक्तिवादी प्रवृत्ति अन्त्य गराएर पार्टी जोगाउन आफूहरूले अभियान चलाएको उनले बताइन् ।
गुटबन्दीका कारण पार्टी कमजोर भएको आफूले टुलुटुलु हेर्न नसकेपछि माओवादीलाई चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउने अठोटका साथ सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर अभियान सुरु गरेको तिसिनाले बताएकी छन् । ‘फेसबुकमा साथ दिन आह्वान गरेर पोस्ट लेखेको केही घण्टामै सयौं कल आएपछि फोर्स गठन गरेर अगाडि बढेको हौं’ उनले भनिन् ।
आफूले सुरु गरेको अभियानमा माओवादी निकट युवा लगायत अन्य युवाहरू पनि जोडिन आउने क्रम अझै जारी रहेको उनी सुनाउँछन् । हजारौं माओवादी कार्यकर्ता पार्टी सुदृढ बनाउन आफ्नो खुन–पसिना बगाए पनि उनीहरू पार्टी बाहिर बस्न बाध्य भएकोले उनीहरुलाई समेट्ने उनको भनाइ छ ।
देश र पार्टीका लागि योगदान पु¥याएका व्यक्तिहरूलाई पार्टीमा फर्काउन रेड फोर्सले भूमिका खेल्ने उनले बताइन् । रेड फोर्सको नेतृत्व लिएकी तिमिल्सिना पार्टीभित्र अझै ५ वर्ष अध्यक्ष प्रचण्डको विकल्प नभएको बताउँछिन् । उनी भन्छिन्, ‘अबको पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव देशैभरिबाट आएका छन् ।’
रेड फोर्सले माओवादी केन्द्रविरुद्ध फैलाएको भ्रम चिर्ने तिम्सिनाको भनाइ छ । १७ हजार मानिस मारेको भनेर माओवादीविरुद्ध फैलाइएको भ्रम रेड फोर्सले चिर्ने उनी बताउँछिन् । ‘माओवादीले १७ हजार मानिस मारेको भनेर भ्रम फैलाइएको छ । यो गलत हो । १३–१४ हजार माओवादी योद्धालाई राज्य पक्षले मारेको हो । जनयुद्ध सुरु नहुँदै धेरैको हत्या राज्यले गरेको तथ्य ढाकछोप गरिएको छ’ उनले भनिन्, ‘१७ हजार मानिस माओवादीले मारेको हैन ।’
तिम्सिनाले आइटी सेलले समेत बनाएर काम गर्ने बताएकी छन् । गाउँ–गाउँमा रेड टास्क पोस्ट बनाएर जनताका कुरा सुन्ने तथा पार्टीलाई पुनःसंरचनामा लैजाने उनको भनाइ छ । आफ्नो अभियानको २९ गते औपचारिक घोषणा गर्ने उनले बताएकी छन् ।
मोरङ घर भएकी तिमिल्सिनका आमा–बुबा पनि माओवादीका पूर्वलडाकु हुन् । उनी माओवादी जनमुक्ति सेनाको शिविरमै हुर्केकी हुन् ।