विराटनगर । इजरायलबाट हमासले नियन्त्रणमा लिएर लगेका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताएका छन् । ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने’ उनको भनाइ छ ।
विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भएको पण्डितले बताएका छन् । उनको शवको बारेमा पनि यकिन नभएको बताइएको छ ।
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भएको थियो ।
हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायलसमक्ष हस्तान्तरण गर्दैछ । २० जनाको सुचीमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम थिए ।
हमासले सूचीमा रहेका २० जना बन्धकहरूको नाम पहिले नै वार्ताको भागको रूपमा इजरायललाई दिइएको थियो । उनीहरूको नाम नै रिहा हुने सूचीमा राखेर सार्वजनिक गरिएको हो ।