विराटनगर । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको छ ।
आइतबार सुपर–६ को खेलमा नेपालले दिएको १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्यो ।
अन्तिम ओभरमा नेपालका बलर दिपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले जीत निश्चित गरेकोा हो । युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो । बलिङमा ऐरी थिए भने ब्याटिङमा युएईका ध्रुव परासर र जाहिद अली थिए । पहिलो बलमा अलीले एक रन लिएको दोस्रो बलमा परासरले रन लिन सकेनन् । तेस्रो बलमा उनले दीपेन्द्रलाई छक्का प्रहार गरे ।
अन्तिम तीन बलमा युएईलाई तीन रन चाहिएको थियो । तर, चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराए । त्यसपछि युएईलाई दुई बलमा तीन रन चाहिएकोमा पाँचौ बलमा रन लिने क्रममा हैदर अली रनआउट भए । अन्तिम बलमा दुई रन लिने क्रममा जाहिद अलि पनि आउट भएपछि युएईले १३९ रन मात्र जोड्न सक्यो ।
नेपालले अन्तिम ओभरको अन्तिम तीन बलमा विकेट लिँदा जित सम्भव भयो । जसमा अन्तिम दुई विकेट रनआउट मार्फत् प्राप्त भयो ।
युएईका लागि महत्वपूर्ण योगदान दिएका परासरले १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनको योगदान गरे। त्यसअघि युएईका लागि अलिसन सराफुले ४० बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन जोड्दा नेपालमाथि दबाब बढेको थियो ।
बलिङमा नेपालका दीपेन्द्रले ३ विकेट लिए । सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १४० रन जोडेको थियो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ४७ बलमा खेलेर ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्काको मद्दतमा २८ रन बनाए । दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।
कप्तान रोहितकुमार पौडेल २० रन, दीपेन्द्रसिंह ऐरी १ रन र कुशल मल्लले १० रन मात्र जोडे । गुल्सन झाले ५ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए । सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा नटआउट रहे ।
राम्रो ओपनिङ गरेपछि नेपालका मध्यक्रमका ब्याटरले खुलेर ब्याटिङ गर्न सकेका थिएनन् । बलिङमा युएईका ६ जना बलरले समान १–१ विकेट लिए ।
युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना
बलियो बनेको छ । समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो । नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ । यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन ।
नेपालको सुपर–६ मा २ खेलबाट ४ अंक भएको छ भने शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ ।
अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी २० कपमा छनोट हुनेछ ।