विर्तामोड । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड पुनः भासिएको छ । आइतबारसम्म सञ्चालनमा ल्याउने गरी शनिबार साँझसम्म काम गरिएपनि बिहानपख पुनः सडक भासिएपछि यातायातका साधन सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
अवरोध हटाएर आइतबारदेखि यातायात खुलाउने गरी काम गरिएकोमा पुनः सडकमा धाँजा फाटेपछि जोखिम बढेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सडक डिभिजनले मेची राजमार्गको पाँचथर इलाम र माइखोला जोरकलशका दर्जनौं पहिरो पन्छाएर अवरोध खुलाएको छ । तर, नजिकबाट लेदोसहितको पानी निस्कने, सडकमा चिरा पर्ने र धाँजा फाट्ने क्रम नरोकिएकोले राजदुवाली खण्डको काम सफल भएको छैन ।
मेची राजमार्गको यो खण्ड असोज १८ देखि पूर्ण रूपमा बन्द छ । पहिरो गएको एक सातापछि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार त्यस क्षेत्रको भ्रमण गरेका थिए ।
इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेको थियो । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयासमा छन् ।
सो क्षेत्रको सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो ।ु पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा एस्काभेटरको प्रयोग गरिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताएका छन् ।
मेची राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको थियो । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी साधन सञ्चालनमा छन् ।
झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर, राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् ।
इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ ।
वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन । बाढीपहिरोका कारण जिल्लाका अधिकाशं स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।
जिल्लाको सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सदरमुकामको सडक आवागमनबाट विच्छेद छन् । बाढी र पहिरोले इलाममा सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको थियो भने एक अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार २७६ परिवार विस्थापित भएका छन् भने १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएका छन् ।