विराटनगर । मोरङको रंगेलीस्थित मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी अभिलेख (ढड्डा) को पाना नै च्यातेर १७ कट्ठा बढी सरकारी ऐलानी जग्गा एक आपराधिक पृष्ठभूमि भएका व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ ।
मोरङको सुनवर्षी नगरपालिका ६ मा दशकौंदेखि बसोबास गर्दै आएका २० घरपरिवार सुकुम्बासीको थातथलो र सयौं बालबालिकाले अध्ययन गर्ने एउटा मदरसा रहेको सरकारी जग्गा कर्मचारीको मिलेमतोमा भूमाफिया सुनवर्षी–९ का भीमप्रसाद सिंहको नाममा धनीपूर्जा बनेको पाइएको हो ।
सुनवर्षी नगरपालिका–६ स्थित कित्ता नम्बर ११० को १७ कट्ठा २ धुर सरकारी जग्गामा २०३०-३५ सालदेखि २० बढी घरपरिवार बस्दै आएका छन् ।
मालपोतका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डा (श्रेस्ता) को वास्तविक पाना नै च्यातेर फ्याँके र त्यस ठाउँमा भीमप्रसाद सिंहको नाममा तयार पारिएको नक्कली अभिलेख टाँसेको खुलेको छ । यो तथ्यलाई स्वयं रंगेली मालपोत कार्यालयका प्रमुख सुनिल पौडेलले स्वीकार गरेका छन् ।
उनका अनुसार, यो किर्ते कार्यमा सबैभन्दा ठूलो प्रमाण श्रेस्ताको मितिले नै दिएको छ । पौडेलले भने, “अभिलेखमा २०५८ सालमा भीमले जग्गा प्राप्त गरेको देखाइएको छ, तर श्रेस्ता नै २०७३-७४ सालको छ । २०७२-७३ सालको श्रेस्तामा २०५८ सालमा राजीनामा पास गराएको देखाउनु प्राविधिक र कानुनी दुवै हिसाबले असम्भव छ । श्रेस्ता बनेको २०७२ सालमा हो भने २०५८ सालमा त्यो जग्गा कसरी आयो ? यहीँबाट यो शतप्रतिशत किर्ते हो भन्ने प्रमाणित हुन्छ ।” पौडेलले आरोपित कर्मचारीहरू, नासु रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र सुरक्षा गार्ड कामदेव मण्डललाई स्पष्टीकरण सोधिएको र थप विभागीय तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

जब बस्तीमा पस्यो डोजर…
सुनवर्षी ६ स्थित सुकुम्बासी बस्तीमा भदौ २३ गते एक्कासि कोलाहल मच्चियो । मालपोत कर्मचारीको मिलेमतोमा २०८२ साल वैशाख ७ गते आफ्नो नाममा किर्ते लालपूर्जा बनाएका भीमप्रसाद सिंह आफ्नो जमिन खाली गराउन भन्दै डोजर लिएर बस्तीमा पुगे ।
आफ्नो घरआँगनमा डोजर गर्जिरहेको देखेपछि त्रसित बनेका स्थानीयले प्रतिवाद गर्दा सिंहले उक्त जमिनको लालपूर्जा आफूसँग रहेको दाबी गरे । दशकौंदेखि भोगचलन गर्दै आएको जमिन एकाएक अर्कैको नाममा भएको सुन्दा स्थानीय छाँगाबाट खसेजस्तै भए । त्यसपछि मात्रै मालपोत कार्यालयको अँध्यारो कोठामा रचिएको यो घिनलाग्दो षड्यन्त्रको रहस्य बाहिरियो ।
आफ्नो बास नै खोसिने भएपछि पीडित परिवारहरू न्यायको खोजीमा एकजुट भएका छन् । उनीहरूले यो घटनालाई सरकारी सम्पत्ति हडप्ने र गरिबलाई विस्थापित गर्ने सुनियोजित अपराधको संज्ञा दिएका छन् । दशैं बिदा सकिएलगत्तै उनीहरूले दोषी कर्मचारी र भूमाफियालाई हदैसम्मको कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली र मालपोत कार्यालयमा धर्ना दिए । पीडितहरूले नगरपालिकादेखि विभिन्न प्रशासनिक निकायसम्म पुगेर आफ्नो पीडा पोखेका छन् ।
बुधबार, पीडितहरूले संगठित रूपमा इलाका प्रहरी कार्यालय रंगेलीमा मालपोतका नायब सुब्बा रेवती अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड रामदेव मण्डल र जग्गाधनी बनाइएका भीमप्रसाद सिंहविरुद्ध ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका छन् । मोरङ प्रहरीले उजुरी दर्ता गरी गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको जनाएको छ । स्थानीय पीडित महोमद इजरायल भन्छन्, “यो हाम्रो जमिन मात्र होइन, हाम्रो पहिचान र भविष्य हो । राज्यको ढड्डा च्यातेर हाम्रो जीवन च्यात्ने अधिकार कसैलाई छैन । यो संगठित अपराधको जालोमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याएरै छाड्छौं ।”

मुख्य सूत्रधार सुरक्षा गार्ड !
सरकारी जग्गा व्यक्तिको नाममा धनीपूर्जा बनाउन मुख्य योजनाकार र सूत्रधारका रूपमा मालपोत कार्यालय रंगेलीका सुरक्षा गार्ड रामदेव मण्डलको नाम अगाडि आएको छ । स्रोतका अनुसार, २०७२ सालमा रंगेलीमा मालपोत स्थापना भएदेखि नै कार्यरत मण्डलले कार्यालयको हरेक प्रक्रिया र कमजोरीबारे गहिरो जानकारी राख्थे । सुरुमा कार्यालय सहयोगी र हाल सुरक्षा गार्डको भूमिकामा रहेका उनैले भूमाफिया भीमप्रसाद सिंहसँग सेटिङ मिलाउने, कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा पार्ने र ढड्डाबाट सक्कली कागजात गायब पारेर नक्कली टाँस्नेजस्तो दुस्साहसपूर्ण कामको नेतृत्व गरेको आरोप छ ।
यता, आरोपको घेरामा रहेका नायब सुब्बा रेवती अधिकारीले भने आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले भने, “भीमको नाममा श्रेस्ता कायम भएर धनीपूर्जा २०७२ सालमै बनेको रहेछ । म त एक वर्षअघि मात्रै यहाँ आएको हुँ । मैले धनीपूर्जाको प्रतिलिपि माग भएपछि त्यसमा हस्ताक्षर मात्र गरेको हुँ ।” यद्यपि, सरकारी अभिलेखको सत्यता र प्राविधिक पक्ष नजाँची अन्धाधुन्ध हस्ताक्षर गर्नुले उनको गैरजिम्मेवारीपन र सम्भावित संलग्नतालाई नै संकेत गर्छ । मुख्य आरोपित मण्डल भने घटना बाहिरिएसँगै सम्पर्कविहीन छन् ।
जसको नाममा १७ कट्ठा सरकारी जमिन सारिएको छ, ती भीमप्रसाद सिंहको पृष्ठभूमि पनि आपराधिक रहेको खुलेको छ । स्थानीयका अनुसार उनी यसअघि लागुऔषध मुद्दामा जेल सजायसमेत भुक्तान गरिसकेका व्यक्ति हुन् । यसले के प्रस्ट पार्छ भने, भूमाफिया र भ्रष्ट कर्मचारीले जानाजान आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई अगाडि सारेर सरकारी सम्पत्ति हडप्ने र पछि कुनै कानुनी झमेला आएमा उसैलाई मोहरा बनाएर उम्किने प्रपञ्च रचेका थिए । अहिले रंगेली–डाइनिया सडकखण्डमा रहेको त्यो बस्ती त्रासमा डुबेको छ । आफ्नो भविष्य अनिश्चित देखेर पीडित परिवारहरू आक्रोशित छन् ।
