विराटनगर । ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपाली टोलीले बुधबार राति भएकोपहिलो खेलमा कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जितसँगै नेपालले ‘सुपर–६’ चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने १८.१ ओभरमै अलआउट हुनुअघि ८३ रनमात्र बनाउन सक्यो । मध्यम लक्ष्य पछ्याएको कुवेतलाई जितसम्म पुग्न नदिन नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र ललित राजवंशीले दुई–दुई विकेट लिए । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले पनि एक–एक विकेट लिएका थिए ।
कुवेतका लागि ओपनर ब्याट्सम्यान क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए । यासिन पटेलले १९ रन जोडे । मित भावसरले ११ रन बटुले । कुवेतका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । केवेतले अतिरिक्त रुपमा आठ रन पायो ।
कुशल भुर्तेलले भने अर्धशतक बनाएका थिए । भुर्तेलले टोलीका लागि ६६ रनको योगदान गरे । उनले ५६ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो १२औँ अर्धशतक पनि हो । उनी अन्तिम ओभरको पाँचौँ बलमा आउट भएका थिए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले टोलीको खातामा २० रन थपे । उनले १९ बलमा एक छक्का पनि प्रहार गरे । उनी दूर्भाग्यपूर्ण तरिकाले रन आउट हुँदै पेभेलियन फर्किएका थिए ।
कप्तान रोहित पौडेल १६ रन बनाउँदै पेभेलियन फर्किए । उनले १५ बलमा तीन चौका प्रहार गरे । ओपनर आसिफ शेख केवल दुई रनमा आउट भए भने चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा पनि पाँच रनको व्यक्तिगत स्कोरमै आउट भए । सातौँ नम्बरमा क्रिज समाल्न आएका गुलसन झाले टोलीको खातामा २० रन थपे । उनले ६ बलमा तीन छक्का पनि प्रहार गरे ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा १९औँ ओभरमा उनले लगातार तीन छक्का प्रहार गरे । सोमपाल कामी एक र नन्दर यादव दुई रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा पाँच रन पायो । कुवेतका बलर नविनराज राजेन्द्रन र अनुदीपले दुई–दुई विकेट लिए ।
सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपका लागि यो अन्तिम चरणको एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिता हो । अन्तिम चरणको छनोट प्रतियोगितामा नौवटा टोली सहभागी छन् । आगामी विश्वकपमा स्थान बनाउन आतुर नौवटै टोलीका लागि यो अन्तिम खुड्किलो हो ।