विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोका प्रभावित परिवारलाई बुधबार पनि राहत सामग्री पठाएको जनाएको छ ।
हेलिकप्टर र अन्य सवारी साधनमार्फत मंगलबार इलाम र झापामा राहत पठाएको सरकारले बुधबार तीन ट्रक सामग्री इलामको माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिकामा पठाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश सरकारसँग भएका सबै सामग्रीहरू तीव्र गतिमा पठाइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राहत वितरणलाई व्यवस्थित गर्न योजना बनाउन सरकारी संयन्त्रको बैठक राखेपछि राहत पठाउन थालिएको हो ।
मुख्यमन्त्री कार्की सेनाको हेलिकप्टरमा १० बोरा चामलसहितको राहत बोकेर मंगलबार इलाम पुगेका थिए । प्रदेश सरकारले मृतकका परिवारलाई राहत रकम साथै अत्यावश्यक सामग्री पठाउने काम पनि अगाडि बढाएको जनाएको छ ।
प्रदेश सरकारका मन्त्रीहरू पनि आ(आफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा सक्रिय रहेको मन्त्री भण्डारीले बताएका छन् । सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि तयारी थालेको जनाएको छ ।