सेनाको हेलिकप्टरमा १० बोरा चामल बोकेर इलाम पुगे मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा ४६ जनाको ज्यान जाने विपद्को समयमा काठमाडौंमा रहेका मुख्मन्त्री हिक्मतकुमार कार्की विपद्को प्रभाब कम भएपछि नेपाली सेनाको हेलिकप्टरबाट इलाम पुगेका छन् ।

वर्षा रोकिएर बाढी र पहिरो कम भएपछि मंगलबार मुख्यमन्त्री कार्की प्रदेश सरकारको राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा इलाम पुगेका हुन् ।

गत शुक्रबार र शनिबारको भिषण वर्षाको कारण कोशी प्रदेशमा ४६ जनाको निधन भएको छ भने इलाममा मात्र ३८ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा बाढी र पहिरोले वितण्डा मच्चाइरहँदा भने मुख्यमन्त्री कार्की काठमाडौंमै थिए । दशै मनाउन काठमाडौं गएका उनी सोमबार मात्र विराटनगर फर्किएका हुन् ।

प्रदेशमा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति हुँदा पनि न मन्त्रिपरिषद्को बैठक बसेको छ न विपद् व्यवस्थापन समितिको । यद्यपी मुख्यमन्त्री कार्कीले भने काठमाडौंमा भएपनि प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गरिरहेको दावी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले सकारलाई होसमा फर्किएर विपद्को क्षति न्युनिकरण, उद्धार र राहतको अगुवाइ गर्न सुझाब दिएका थिए ।

चौतर्फी आलोचनापछि प्रदेशमा फर्केका मुख्यमन्त्री कार्की आफैं राहत सामग्री लिएर सेनाको हेलिकप्टरमा इलाम पुगेका हुन् । सोमबार इलाममा संघीय सरकारका भौतिक मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालय पनि आउने तय भएको थियो । तर, सेनाको हेलिकप्टरर चढ्न नमानेका उनीहरु प्लेनको टिकट नपाएको भन्दै इलाम आएनन् ।

मुख्यमन्त्री कार्कीले इलामका बाढी पहिरो र विपदबाट पीडितसँग भेटघाट गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको उनले बताएका थिए ।

प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु पठाएको जनाएको छ । इलामको माङ्सेबुङका पीडितको लागि पहिलो चरणमा त्रिपाल ५ थान, चामल १० बोरा, म्याट्रेस ४६ थान, दाल ५० केजी, आलु ५० केजी, तेल २० लिटर र १० प्याकेट बेसार पठाएको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महाशाखा प्रमुख सदानन्द भट्टराईले जानकारी दिए ।

अशोज २१, २०८२, बिहानको ११:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर