विराटनगर । कोशी प्रदेशमा बाढी पहिरोबाट ४६ जनाको मृत्यु हुँदा ‘बेपत्ता’ झै बनेको कोशी प्रदेश सरकार मंगलबारबाट सक्रिय भएको छ । मंगलबार प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पठाएको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रदेश सरकारले राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए । स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टरमार्फत पठाईएको हो ।
प्रदेश सरकारले दैनिक उपभोग्य खाध्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन, बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाएको जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईका अनुसार अहिले लगिएको राहत सामग्री माङ्सेबुङ गाउँपालिका (गजुरमुखी धाम) र ईलाम नगरपालिकाका लागि हो ।
गत शुक्रबार र शनिबारको अविरल बर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुको लागि प्रदेश सरकारले राहत सामग्री पठाएको हो । बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरु पठाईएको सरकारले जनाएको छ ।
बाढी पहिरोका इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ । बाढी पहिरोका कारण कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएकोमा इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ ।
बाढी र पहिरोबाट प्रदेशमा ठूलो धनजनको क्षति हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्की भने काठमाडौंमै थिए । उनी सोमबार विराटनगर आएपछि सरकार सक्रिय भएको हो । संघीय सरकार विगतको तुलनामा विपद् पूर्वतयारी र पूर्वसूचनामा सक्रिय बन्दा देशभरको क्षति न्युनीकरण भएपनि कोशी प्रदेशमा ठूलो क्षति भएको छ ।
२०७५ सालमा प्रदेशसभाले बनाएको कोशी प्रदेश विपद् ऐन अनुसार प्रदेशमा विपद्को पूर्वतयारी, उद्धार, राहत र पुनःस्र्थापनाको लागि मुख्यमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति र आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा कार्यकारी समिति बनेको छ । तर, यति ठूलो विपद्मा दुबै समितिको बैठक पनि बसेको छैन ।
विपद्को बेला नागरिकलाई सचेत गराउन प्रदेश सरकारले न कुनै सूचना जारी गर्यो, न विपद्पछिको अवस्थाबारे कुनै जानकारी दियो । विगतका विपद्का समयमा मुख्यमन्त्री तथा मन्त्रीहरु पीडितको अवस्था बुझ्न र उद्धारको पहल गर्न घटनास्थलमा पुगेको देखिन्थ्यो । तर, यो पटक कतै त्यस्तो देखिएन ।
दसैँ मनाउन काठमाडौं गएका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद्को अबधिभरी काठमाडौंमै बसे । उनले प्रदेशभर बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला फेसबुक स्टाटस लेख्दै काठमाडौंमा बसेका थिए ।
प्रदेशमा बाढीपहिरोले गम्भीर स्थिति सिर्जना गर्दा पनि कार्की प्रदेशमा नआएको भन्दै चर्को आलोचना भएको थियो । न यसबीच प्रदेश सरकारले नागरिकलाई विपद्बाट जोगिन पूर्वतयारीको लागि सचेत हुन आह्वान गर्यो, न विपद्पछिको कुनै सूचना नै सार्वजनिक गर्यो । विगतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हरेक २ दिनमा विपद्को तथ्यांक दिने गरेको थियो । अहिले त्यो तथ्यांक संकलन र सार्वजनिक गर्ने काम पनि सरकारले गरेको देखिएको छैन ।
विगतमा केपी ओली नेतृत्वको सरकार रहँदा उनका गलत कदमको रक्षा गर्दै मुख्यमन्त्री कार्कीले हरेक दिनजसो स्टाटस लेख्ने गर्दथे । पछिल्लो पटक शुशिला कार्की नेतृत्वको सरकारले खर्च कटौती गर्ने निर्णय गर्दा त्यसको विरुद्ध स्टाटस लेखेका उनले विपद्भरी काठमाडौंमा बसेर स्टाटस भने थुप्रै लेखे ।


