विराटनगर–काठमाडौंको हवाइ टिकट पाउनै मुस्किल

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौँसम्म जाने हवाइ टिकटको अभाव भएको छ । बिमान कम्पनीहरुका अनुसार काठमाडौं जानका लागि बिहीबारसम्मको टिकट प्याक भइसकेको छ । शुक्रबारका लागि मात्रै टिकटहरु खाली देखिएको छ ।

यस्तै झापा भद्रपुरबाट काठमाडौं जाने टिकटको पनि अभाव भएको छ । दुवै विमानस्थलबाट काठमाडौं जान चाहने यात्रुहरु टिकट पर्खेर बस्नु परेको छ ।

आइतबार र सोमबार गएको अविरल वर्षाका कारण अहिले पूर्वी क्षेत्रबाट काठमाडौँ आउने सडक यातायात अवरुद्ध छ । हवाई यातायात पनि अवरुद्ध हुँदा उडानमा पनि आकस्मिक समस्या हुँदै आएको छ । बिरामी तथा घाइतेको उद्धार गर्नसमेत टिकट पाउने अवस्था नरहेको ट्राभल्स एजेन्सी भक्तबहादुर कार्की बताउँछन् ।

यो अवस्थामा वायुसेवा कम्पनीले सो क्षेत्रमा उडान थप गरेरै भए पनि अवस्था सहज गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । नेपाल वायुसेवा निगमले भैरहवामा चार्टर उडान गरेजस्तै विराटनगरमा र भद्रपुरमा समेत थप व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

तर, यो अवस्था त्यति सहज भने नभएको नेपाल नागरिक उड्डयन प्राधिकरण बताउँछ । वायुसेवा कम्पनीको सेड्युल बुक भइसकेको कारणले थप उडान गर्न त्यति सहज नभएको हो ।

अहिलेको अवस्थामा सहज रूपमा व्यवस्थापन गर्न अन्यत्र उडान घटाएर त्यसलाई दुई विमानस्थलमा सिफ्ट गर्नुपर्छ । तर त्यो सम्भव नभएको प्राधिकरण बताउँछ ।

अहिले आन्तरिक उडान गर्ने कम्पनीमध्ये बुद्ध एयरसँग १८ वटा, श्री एयरलाइन्ससँग ८ वटा, यति एयरलाइन्ससँग ७ वटा विमान रहेका छन् । गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन भने बाँकी एयरलाइन्सले दुर्गम क्षेत्रमा मात्रै उडान भर्दै आएका छन् ।

अशोज २०, २०८२, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर