पहिरोले अवरुद्ध बनाएको मदन भण्डारी राजमार्ग वाइसिएलको सक्रियतामा सुचारु

विराटनगर । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको मदन भण्डारी लोकमार्ग योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले सुचारु गराएको छ ।

सोमबार विहान उदयपुरस्थित लोकमार्गको गाईघाट–मुर्कुची खण्डको नाम्जेमा पहिरो खसेर अवरुद्ध भएको सडक वाईसिएल कार्यकर्ताले पहिरो पन्छाएर सुचारु गराएका हुन् । 

त्रियुगा नगरपालिका ७ होक्सेक्षेत्रको नाम्जेमा ठूलठूला ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यसबारे स्थानीयले जानकारी गराएलगत्तै सदरमुकाम गाईघाटबाट वाईसिएल टोली घट्नास्थल पुगेर पहिरो पन्छाएको नेकपा (माओवादी केन्द्र) त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए । 

उनका अनुसार सडक आवागमन रोकिनुका साथै अझै पहिरो खस्ने जोखिमले स्थनीय त्रसित भएका स्थानीयले वाईसिएललाई सहयोग मागे बमोजिम उद्धार गर्न टोली परिचालन गरिएको अध्यक्ष राईले बताए । हम्मर, गैँटी, झम्पल र बेल्चासहित घट्नास्थल पुगेका डेढदर्जन हाराहारी वाईसिएल कार्यकर्ताले बडेमानका ढुङ्गा फुटाएर पहिरो पन्छाएका थिए । 

माओवादी निकट युवा दस्ता वाईसिएलले गत साउन १ गतेदेखि निरन्तररुपमा श्रमदान अभियान चलाईरहेको छ । अहिले तीनदिन लामो अविरल वर्षाले देशभर पुगेको क्षति र अलपत्र जनजीवनको उद्धार र सहयोग गर्न वाईसिएल देशभर खटिरहेको छ । 

पार्टी केन्द्रीय संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अविरल वर्षा सुरु भएसँगै आपत विपत र अप्ठेरोमा परेका सर्वसाधारणलाई उद्धार र सहयोग गर्न आव्हान गरेका थिए । सोही बमोजिम वाईसिएल कार्यकर्ता देशव्यापी रुपमा उद्धार कार्यमा लागिरहेको पार्टी त्रियुगा नगर इन्चार्ज बिमल किरातीले बताएका छन् । 

उदयपुरमा पनि अविरल वर्षाले विभिन्न ठाउँमा आपत विपतमा परेकालाई वाईसिएलले उद्धार र सहयोग गरिरहेको माओबादी जिल्ला समन्वय समिति उदयपुरका संयोजक द्रोण पौडेल (निरज)ले बताए । ‘केन्द्रीय संयोजक प्रचण्डको निर्देशन अनुसार काठमाडौँ उपत्यकामा १० हजार वाईसिएल उद्धार कार्यमा परिचालित भएका छन्’ उनले भने ‘अविरल वर्षाले समस्यामा परेका पीडितलाई बसै खाले सहयोग गर्न वाईसिएल देशभरी परिचालित छन्, उदयपुरमा पनि हामी लागी परेका छौँ ।’ 

अशोज २०, २०८२, साँझको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर