मोरङमा करिब २ हजार विस्थापित, ४०० घर डुबानमा

विराटनगर । शनिबारदेखिको अविरल वर्षापछि आएको बाढीले मोरङका विभिन्न स्थानका करिब ४०० घर डुबान हुँदा २ हजारलाई विस्थापित गरेको छ ।

बाढी र डुबानका कारण ४०० बढि घर प्रभावित हुँदा २ हजार हाराहारी विस्थापित भएको प्रहरीले जनाएको छ । बाढीमा परी मोरङमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१६ सुगरमिल नजिकको खाल्डोमा भारत घर भइ त्यहीँ डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउतको पानीको भेलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बाढीले महानगरका विभिन्न वडामा क्षति पुर्‍याएको छ। विराटनगर–१२ बखरीमा ७७ घर डुबानमा परी ३५० जना प्रभावित भएका छन् भने रतुवामाई–५ कुमारटोल, महराजथान र मुसरभिट्टा क्षेत्रमा ५९ घर डुबानमा परी २८० जना प्रभावित भएका छन् ।

सुनबर्षी–३ बाहुनटोलमा ६० घर डुबानमा परेका छन्, जसबाट २५० भन्दा बढि प्रभावित भएका छन् । त्यस्तै, विराटनगर–१६ दरैया बस्तीमा ७७ घर डुबानमा परेपछि ३८१ जनाको उद्धार गरिएको छ। विराटनगर–२ पूर्वटोलका ३५ घर डुबानमा परेका छन् भने कटहरी–१ बखु टोलका ३५ घर डुबान हुँदा १ सय भन्दा धेरै जना प्रभावित भएका छन्।

सुनबर्षी–६ कैनिटोल, उर्लाबारी–९ बोडरलाइन र मिक्लाजुङ–६ मलामीटहरामा स्थानीय खोलाले बाँध कटान गरेको छ । कानेपोखरी–१ बीरटोलमा चिसाङ खोलाले दुई कठ्ठा खेत बगाएको छ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए।

उद्धार गरिएका बाढीपीडितहरूलाई विभिन्न विद्यालय, मन्दिर र धर्मशालामा अस्थायी रूपमा राखिएको छ । विराटनगर महानगरपालिका, जीवन विकास संस्था, मारवाडी सेवा समाज र रतुवामाई नगरपालिकासहित निजी क्षेत्रले पीडितलाई राहत वितरणमा सहकार्य गरेका छन् ।

अशोज २०, २०८२, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर