विराटनगर । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) उद्धारमा खटिएको छ ।
डुबानमा परेका विराटनगर– १६ का विभिन्न बस्तीमा माओवादीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवकुमार मण्डलसहितको टोली उद्धारमा खटिएको हो ।
डुबान प्रभावित क्षेत्रका जनसमुदायसँग संकटको समयमा आफू र वाईसीएल उद्धार र राहतमा हरदम तयार रहेको मण्डलले बताए । मण्डलले पार्टी र वाईसीएलका साथै तत्काल उद्धार तथा पुनर्स्थापनामा तीव्रता दिन सम्बन्धित निकायहरूलाई आह्वानसमेत गरेका छन् ।
मण्डलले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, जनवर्गीय र भातृ सङ्गठनहरूलाई उद्धार, राहत तथा सहयोग कार्यमा सक्रिय भई खटिरहेको जानकारी गराए । उनले जनताको संकट र विपद्को घडीमा माओवादी सधैं अग्रपङ्तिमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोशीमा अहिले पनि भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।