लकडाउन उल्लंघन गर्दै पोखरियामा प्रवेश परीक्षा

विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया माध्यामिक विद्यालयले लकडाउनको अवज्ञा गर्दै विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिएको छ ।

सरकारले लकडाउन अगाडिदेखि नै सबै शैक्षिक संस्था बन्द गरी कुनैपनि गतिबिधि नगर्न निर्देशन दिएको भएपनि पोखरीया स्कूलले बिहीबार नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको हो ।

लकडाउन उल्लंघन गर्दै विराटनगरको सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले आपत्ती जनाएका छन् । पोखरियाले केही दिनयता दैनिक रुपमा नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिइरहेको प्याब्सन मोरङले जनाएको छ ।

सरकारले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा जोखिमबाट बच्न भन्दै विगत २ महिनादेखि लकडाउन जारी गरेको छ । शिक्षा मन्त्रालयले यो अबधिमा विद्यार्थी भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन जस्ता कुनैपनि शैक्षिक कृयाकलापन नगर्न निर्देशन दिएको छ ।

लकडाउनको समयमा अतिआवश्यक सामग्रीहरु खाद्यान्न, औषधि पसलहरु मात्र सामाजिक दुरी कायम गरी खोल्न सकिने अवस्था रहेकोमा यस्तो जोखिमपूर्ण अवस्थाम प्रवेश परीक्षा सञ्चालन गलत भएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताउनुभयो । उहाँले निजी विद्यालयहरुले ठूलो क्षति ब्यहोरेर पनि शैक्षिक गतिबिधि ठप्प पारेकोमा सरकारी विद्यालयले नै त्यसको उल्लंघन गर्नु आपत्तीजनक रहेको उल्लेख गर्नुभएको छ ।

अन्तराष्ट्रिय प्रचलनलाई समेत ख्याल गर्दै बाल मस्तिष्कलाई चलायमान गराइरहन भर्चुअल कक्षामार्फत केही शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने रअनलाईनमार्फत भर्ना गर्ने तयारी निजी विद्यालयले गर्दा पनि सरकारले रोक लगाएको छ । लकडाउनको बेला राज्यको नीतिलाई पूर्ण पालना गर्दै मानवीय स्वास्थ्यमा गम्भिर संवेदनशीलता देखाइरहेको प्याब्सनको भनाइ छ ।

पोखरिया स्कूलका प्राचार्य खेम भट्टराईले भने प्रवेश परीक्षा नलिएको भर्ना फारम मात्र भराएको बताउनुभएको छ । तर, बिहीबार मात्र स्कूलमा ४ वटा कक्षाकोठामा विद्यार्थीले परीक्षा दिएका थिए ।

बिहिबार, १५ जेठ, २०७७, रातीको ०९:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर