वाइसिएल नेपालद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान

काठमाडौं । निरन्तर वर्षा, बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा जोखिम बढ्दै गएको सन्दर्भमा योङ कम्युनिष्ट लिग, वाइसिएल नेपालले देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पछिल्ला दिनहरूमा प्राकृतिक विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति हुने सम्भावना बढिरहेको भन्दै संगठनले आफ्ना संरचना तथा सदस्यहरूलाई जनसेवामा तत्पर रहन निर्देशन जारी गरेको हो।

वाइसिएल नेपालका अध्यक्ष पुष्प ओलीले जारी गरेको विज्ञप्तिमा देशभरका १० हजारभन्दा बढी सदस्यहरूलाई तत्काल उद्धार, राहत र सहयोगका कार्यमा खटिन आह्वान गरिएको छ। उनका अनुसार संगठनका सम्पूर्ण तह–तप्काका साथीहरूलाई स्थानीय तह, सामाजिक संघ–संस्था, युवा क्लब तथा विपद् व्यवस्थापनसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा सक्रिय हुन निर्देशन दिइएको छ।

संगठनले बाढी र डुबानबाट विस्थापित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, ओछ्यान, औषधि तथा प्राथमिक उपचार सामग्री आपूर्ति गर्ने तयारी गरेको छ भने, पहिरोका कारण अवरुद्ध भएका सडक मार्ग खुलाउन र उद्धार कार्यमा समेत प्रत्यक्ष संलग्न हुने बताएको छ।

अध्यक्ष ओलीले “भैपरी आउने जस्तोसुकै विपद् र परिस्थितिमा पनि जनताको पक्षमा, जनताको सेवामा अग्रपंक्तिमा रहनु नै हाम्रो संगठनको मूल दायित्व हो” भन्दै वाईसिएल नेपाल सधैं अग्रसर रहने स्पष्ट पारेका छन्।

यसअघि पनि वाइसिएल नेपालले बाढी, पहिरो र भूकम्पजस्ता विपद् पर्दा सक्रियतापूर्वक उद्धार तथा राहत अभियान सञ्चालन गरेको इतिहास रहेको छ। यसपटक समेत संगठनले उच्च सतर्कता अपनाउँदै प्रभावित जनतालाई शीघ्र राहत पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

अशोज १८, २०८२, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर