विराटनगर । अत्याधिक वर्षा हुने र बाढी पहिरोको जोखिम बढ्ने अनुमान गर्दै मेची राजमार्ग आज साँझ ७ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म सडक बन्द गरिएको हो ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्भावित क्षति हुन नदिनका लागि मेची राजमार्गमा साना तथा ठूला सवारी संचालनमा रोक लगाईएको बताइन् । यसैबीच सडक डिभिजन कार्यालय इलामको मेची राजमार्गको जोरकलश देखि ताप्लेजुङको सुकेटार बिमानस्थलसम्म सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ । केचना कञ्चनजंघा सडक समेत पूर्ण रुपमा ठप्प रहने सो कार्यालयले जनाएको छ ।
मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दश ठाउँमा पहिरोको जोखिम रहेको जिल्लाका विपद् व्यवस्थापन समितिले अनुमान गरेका छन् । सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको छ । इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका–११ तीन घरे, रोङ गाउँपालिका–४ कोल्बुङ, रोङ गाउँपालिका– ३ चुच्चेढुङ्गा, इलाम नगरपालिका–४ बाघखोर, इलाम नगरपालिका–५ चुरेघाँटी, इलाम नगरपालिका–१० राजदुवाली, इलाम नगरपालिका–४ पुवाखोला, देउमाइ नगरपालिका–१ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका–४ रमिते र फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ ।
यस्तै, केचना कञ्चनजङ्घा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम छ । यसैगरी पाँचथरमा पर्ने फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तर्गत तुम्वेवा–२ को नावाखोला, मध्य पहाडी राजमार्गको याङवरक–३ रिजाल भीर र याङवरक–२ को फलामखोला र मेवा खोलालगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम रहेकाले स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच वर्षासँगै बाढी पहिरोको जोखिम बढेपछि मेची र मध्यपहाडी राजमार्ग सँगै तमोर करिडोरमा रात्रीकालिन समयमा सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरको आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त सडकमा भोली बिहान ६ बजेसम्म सवारी साधन नचलाउने निर्णय गरेको हो । मेची राजमार्गको इलाम–पाँचथर–ताप्लेजुङ खण्डसँगै तमोर करिडोरको मुलघाट –पाँचथर–ताप्लेजुङ मध्यपहाडी राजमार्गको थर्पु च्याङथापु तथा पाँचथरका भित्री सडकहरु बाढी पहिरोको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ ।