विराटनगर । विराटनगरका संस्थागत विद्यालयका संचालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले विराटनगरस्थित सामुदायिक माध्यामिक विद्यालयले लकडाउनको उल्लंघन गर्दै प्रवेश परीक्षा लिएको आरोप लगाएको छ ।
प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई र एनप्याब्सन विराटनगरका नगर संयोजक राजनकुमार छाराहाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयले धमाधम प्रवेश परीक्षा गराएर भर्ना लिइरहेको दाबी गरेको हो ।
‘यस्तो बिषम परिस्थितिमा पनि सामुदायिक विद्यालयहरुले भने मानवीय स्वास्थ्यमा प्रतिकुल हुने गरी निरन्तर रुपमा गतिविधिहरु बढाईरहेको, भर्ना प्रकृयाका लागि समूह भेला गरी प्रवेश परीक्षा लिईरहेको, शुल्क असुल गरिरहेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जसको पछिल्लो उदाहरण मिति २०७७ जेष्ठ १५ गते विराटनगर स्थित पोखरीया मा. वि.ले विद्यार्थीहरुको समूह भेला गरी प्रवेश परीक्षा लिईरहेको समेत पाइएको छ ।’
यस घटनाप्रति दुवै संगठनले प्रवेश परीक्षा लिएको विषयमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रशासन समक्ष विभिन्न चार बुँदे माग सार्वजनिक गरेका छन् ।
सामुदायिक विद्यालयले यस्ता गतिविधि सार्वजनिक रुपमा नरोके नरोकिए प्याब्सन विराटनगर र एनप्याब्सन विराटनगरले पनि संस्थागत निर्णय गर्ने, पोखरीया मा.वि.का प्रधानाध्यापकलाई विराटनगर नगर शिक्षा समितिको सदस्यबाट पदमुक्त गर्नुपर्ने, उक्त विद्यालयमा प्रवेश परीक्षामा भेला भएका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकलाई अनिवार्य क्वारेन्टिनमा राखी थप कानूनी कारबाही गर्नुपर्ने र विगतका वर्षदेखि नै सामुदायिक विद्यालयहरुले विना स्थान्तरण प्रमाण–पत्र भर्ना लिई रहेकोले यस्तो कार्यलाई रोक्नु पर्ने दुवै संगठनको माग छ । उक्त माग पुरा नभए दुवै संगठनले आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।