क्यान्सर जित्नेको अनुभव

‘मैले सोधें, मर्नका लागि सजिलो उपाय के छ ?’

दशैंको नवमीको रात पुनः क्यान्सले झक्झक्याएपछि कमल पौडेललाई लाग्यो ‘अब म बाँचिँदैन ।’

विराटनगर । जब चाडबाड र दशैं आउँछ कमल पौडेल आफ्नो कहालीलाग्दो विगतमा फर्किन्छन् । उनको लागि चाडपर्वको उल्लासभन्दा जीवन र मृत्युको दोसाँधमा गुज्रिएका पलहरू धेरै छन् । आज उनी क्यान्सर जितेका एक योद्धा मात्र होइनन्, उही पीडा भोगिरहेका सयौँका लागि मनोवैज्ञानिक सहारा पनि बनिरहेका छन् ।

कुरा २०७७ सालको दशैँको हो । कोरोना महामारीले विश्व नै त्रस्त थियो । विराटनगर –५ का कमल पौडेल ११ दिनदेखि ज्वरोले थलिएर घरमै सुतिरहेका थिए । परिवारले कोरोनाको डरले अस्पताल लैजान मानेको थिएन । तर, दशैँको नवमीको रात १० बजे उनलाई महसुस भयो, ‘अब बाँचिँदैन ।’

यो अन्तिम रियलाइजेसनपछि उनले आफ्ना साथी शेखर रेग्मीलाई फोन गरेर तुरुन्त एम्बुलेन्स खोजिदिन आग्रह गरे । केही बेरमै एम्बुलेन्स आयो । थर्मसमा तातो पानी बोकेर उनी एक्लै अस्पतालतर्फ लागे, किनकी कोरोनाको समयमा अरूलाई भित्र छिर्न अनुमति थिएन । अस्पताल पुग्दा नपुग्दै उनी एम्बुलेन्समै बेहोस भएर ढलेछन् । होस खुल्दा उनी अस्पतालको बेडमा थिए, हातमा थर्मस पनि थिएन । उनी १० दिन अस्पताल बसे । जब घर फर्किए, दशैँ सकिइसकेको थियो ।

कोरोनाबाट तंग्रिए पनि उनको स्वास्थ्यमा सुधार आएन । माघ महिनामा उनी फेरि गम्भीर बिरामी परे । स्थानीय उपचारले सम्भव नदेखेपछि उनी काठमाडौं गए । त्यहाँ बोनम्यारो परीक्षण गर्दा थाहा भयो, उनको क्यान्सर दोहोरिएको थियो र रगतमा क्यान्सरका कोष फैलिसकेका थिए । डाक्टरले उनलाई अन्तिम विकल्प सुनाए बोनम्यारो प्रत्यारोपण । योबाहेक उनीसँग जीवन बचाउने अरू कुनै उपाय थिएन ।

प्रत्यारोपणका लागि उनका दुई छोराहरूको परीक्षण गरियो । दुवैको बोनम्यारो ६० प्रतिशत मिल्यो, जसलाई ‘ह्याप्लो ट्रान्सप्लान्ट’ भनिन्छ । तर, कोरोना महामारीका कारण प्रत्यारोपण सेवा बन्द हुँदा उनले लामो समय कुर्नुप¥यो ।

२०७८ साल साउन ७ गते उनको प्रत्यारोपण भयो । तर, दुर्भाग्यले उनलाई छोडेन । प्रत्यारोपण सफल नभएको संकेत देखियो । उनको शरीरमा डाबरहरू आए । डाक्टरले प्रत्यारोपण सफल नभएको बताउँदा उनीभित्रको अन्तिम आशा पनि मरेर गयो । उनले त्यो क्षणलाई सम्झिँदै भन्छन्, ‘मैले डाक्टरलाई सोधेँ, अब म बाँच्दिनँ भने मर्नका लागि सबैभन्दा सजिलो उपाय के छ ?’ उनको प्रश्न सुनेर डाक्टर निशब्द भए र कोठाबाट बाहिर निस्किए । प्रत्यारोपण कक्षमा डाक्टरसँगको कुराकानी सुनिरहेकी उनकी श्रीमती अम्बिका लुइँटेलसँग आँखा मात्रै जुध्यो । वाक्य फुटेन । आँशु बग्यो । तर, आवाज आएन । त्यसरी नै एक महिना उनीहरूका लागि हरेक पल मृत्युको प्रतीक्षाजस्तै भयो ।

जब सबै आशा सकिएको थियो, तब एक चमत्कार भयो । डाक्टरले चलाएको स्टेरोइडले काम गर्न थाल्यो र उनको शरीरका डाबरहरू हराउँदै गए । डाक्टरहरू आफैँ चकित परे र भने, ‘यो त मिराकल भयो, तपाईं ठीक हुनुहुन्छ कि क्या हो !’
त्यसपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आयो । तर, संघर्ष सकिएको थिएन । उनले ६ महिनासम्म केही पनि चपाएर खान सकेनन् । भात, कोदो, फापर सबै पिँधेर झोल बनाएर खानुपथ्र्यो । चपाउन खोज्नासाथ बान्ता हुन्थ्यो ।

कमल आफ्नो यो जीवनलाई ‘बोनसको जिन्दगी’ भन्छन् । परिवारले समेत माया मारिसकेको अवस्थाबाट फर्किएका उनी अहिले आफ्नो अनुभवलाई अरूको लागि शक्तिमा बदल्दैछन् । विगत डेढ वर्षदेखि उनी बिराट टिचिङ अस्पतालमा क्यान्सरका बिरामी र उनीहरूका आफन्तलाई परामर्श दिन्छन् । क्यान्सरको निदान हुँदा आत्तिने, किमोथेरापीसँग डराउने र उपचारको क्रममा आउने मानसिक तनावलाई कसरी सामना गर्ने भनेर उनी सिकाउँछन् ।

‘जब म बिरामीलाई आफ्नो कथा सुनाउँछु, उनीहरूले सोच्छन्–यति धेरै दुःख भोगेको मान्छे त हाँसेर बसेको छ भने हामी किन सक्दैनौँ ?,’ उनी भन्छन् । उनको परामर्शले धेरै बिरामीलाई उपचार पूरा गर्न र मानसिक रूपमा बलियो हुन मद्दत गरेको छ ।

पौडेलको कथाले देखाउँछ–क्यान्सर अन्त्य होइन । सही उपचार, उच्च मनोबल र परिवारको साथले यो रोगलाई जित्न सकिन्छ । मृत्युलाई नजिकबाट चिहाएर फर्केका कमल पौडेल आज अरूको जीवनमा आशा बाल्ने प्रयासमा छन् ।

अशोज १५, २०८२, रातीको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर