विराटनगर । राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलले नेपालका राजनीतिक पार्टीहरूभित्र पनि ‘जेन–जी विद्रोह’को आवश्यकता औंल्याएका छन् । यस्तो विद्रोह हुन सकेको खण्डमा यहाँका राजनीतिक दलहरू नयाँ र ऊर्जावान बन्न सक्ने तथा त्यसले मुलुकको वर्तमान अवस्थामा परिवर्तन ल्याउनका लागि मार्ग प्रशस्त हुने उनको बुझाइ छ ।
प्राध्यापक पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै आफ्ना गलत नेतृत्वका विरुद्ध विद्रोहको झण्डा बोक्न र पार्टी कब्जा गर्न पनि सुझाव दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन् : “मुलुकमा जेन–जी विद्रोहले ओली–देउवाको भ्रष्ट गठजोड गल्र्याम–गुर्लुम ढाले झैं कांग्रेस, एमाले र माओवादी लगायत सबै दलमा आज यस्तै जेन–जी विद्रोह उठ्न जरुरी छ । अनि मात्र नवीन चेत, नवीन ऊर्जा र नवीन नेतृत्व सहितका राजनीतिक दल बन्नेछन् र मुलुकको कायापलटको मार्ग प्रशस्त हुनेछ ।”
पोखरेलले अगाडि थपेका छन्, “भ्रष्ट र जर्जर नेतृत्वको गुलामी होइन तिनका विरूद्ध विद्रोहको झण्डा बोकौं र पार्टी नेतृत्व कब्जा गरौं । यिनको ‘गिदड भवकी’ बाट नडराउँ । यी कति निरीह रहेछन् भन्ने २३–२४ को जेन–जी विद्रोहले देखाइसक्यो ।
प्राध्यापक कृष्ण पोखरेलले सक्रियतापूर्वक आफ्ना राजनीतिक तथा सामाजिक विश्लेषणहरू प्रस्तुत गर्दै आएका छन् । उनका विचारहरू मुख्यतः नेपालको वर्तमान राजनीतिक अवस्था, दलहरूको भूमिका, युवा सहभागिता र सुशासनमा केन्द्रित हुने गरेको छ ।
दलहरूको आन्तरिक लोकतन्त्र र रूपान्तरणः उनले बारम्बार दलहरूभित्र आन्तरिक लोकतन्त्रको खडेरी परेको र नेतृत्व पुरानो एवं यथास्थितिवादी भएकाले मुलुकले प्रगति गर्न नसकेको तर्क गरेका छन् । उनले दलहरूलाई गतिशील बनाउन युवा पुस्ताको हस्तक्षेप आवश्यक रहेकोमा जोड दिएका छन् ।
पोखरेलले वर्तमान राजनीतिक नेतृत्वलाई भ्रष्टाचार र बेथितिमा लिप्त भएको आरोप लगाउँदै सुशासनका लागि सशक्त जनदबाब र आन्तरिक शुद्धीकरणको खाँचो औंल्याएका छन् ।
युवाको भूमिका र ’जेन–जी’ शक्तिः ’जेन–जी’ पुस्तालाई परिवर्तनको संवाहकका रूपमा चित्रण गर्दै उनले यो पुस्ताले राजनीतिक दलहरूभित्र पनि रूपान्तरण ल्याउन सक्ने सामथ्र्य राख्ने विश्वास व्यक्त गरेका छन् । उनले युवाहरूलाई नेतृत्वको दासत्व स्वीकार नगरी विद्रोहको झण्डा बोक्न आह्वान गरेका छन् ।
पोखरेलले राजनीतिक दलहरूबाट जनताको अपेक्षा पूरा नभएको र वैकल्पिक शक्तिको आवश्यकता महसुस भइरहेको सन्दर्भमा दलहरू स्वयंले आफूलाई रूपान्तरण गर्न नसके भविष्यमा थप संकट आउन सक्ने चेतावनी पनि दिँदै आएका छन् ।
