अदालतको सफाईपछि महरा रिहा

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेपछि थुनामा रहनुभएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि रिहा हुनुभएको छ ।

जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले सोमबार महरालाई सफाइ दिएपछि उहाँ रिहा हुनुभएको हो ।

यसअघि अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महरालाई सफाइ दिइएको हो ।

महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् । त्यस्तै औठाछापलगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा घटनामा संलग्न नभएको देखिएकाले सफाइ पाएको अदालतले जनाएको छ ।

तत्कालीन सभामुख महरामाथि असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उहाँलाई पदबाट राजीनामा दिन सुझाब दिएपछि उहाँले राजिनामा दिनुभएको थियो ।

महरा विरुद्ध आरोप लगाउने महिलाले आपूmले दबाबमा आरोप लगाएको बताएपनि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । पीडित भनिएकी महिलाले अदालतमा बलात्कार प्रयास नभएको बयान दिएपनि अदालतले त्यसलाई बेवास्ता गरी पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए ।  त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे ।

मङ्गलबार, ०६ फागुन, २०७६, दिउँसोको ०१:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर