प्याब्सन विराटनगरद्धारा महानगरलाई कम्प्युटर र प्रिन्टर सहयोग

विराटनगर । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित बनेको विराटनगर महानगरपालिकालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), विराटनगरले कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर तथा प्रिन्टरहरू सहयोग गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा प्याब्सनले उक्त सामाग्री महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालयमा ठूलो भौतिक क्षति पुगेपछि कार्यालयको कामकाज प्रभावित भएको थियो । यस अवस्थालाई मध्यनजर गर्दै प्याब्सनले तत्काल सेवा सुचारु गर्न सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक प्रशासन महाशाखाका लागि दुई थान डेस्कटप कम्प्युटर र दुई थान प्रिन्टर उपलब्ध गराएको छ । त्यसैगरी, राजश्व महाशाखाको सहज सञ्चालनका लागि दुई थान डेस्कटप कम्प्युटर र एक थान थ्री इन वन प्रिन्टर तथा स्क्यानर प्रदान गरिएको छ ।

विपद्को समयमा एकअर्कालाई साथ दिनु सामाजिक दायित्व भएको बताउँदै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले महानगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउन सानो सहयोग गरिएको बताए । उनले भने, “यो विपद्को घडीमा महानगरपालिकाको काम नरोकियोस् र जनताले छिटोभन्दा छिटो सेवा पाउन् भन्ने हाम्रो चाहना हो ।”

प्याब्सनका तर्फबाट केन्द्रीय सदस्य सितला सुब्बा, कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सन केन्द्रीय प्राज्ञिक सदस्य सावित्री पराजुली, प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, कोषाध्यक्ष मणिराज भट्टराई लगायत नगर तथा जिल्लाका पदाधिकारीहरूको उपस्थितिमा उक्त सामग्रीहरू महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीलाई हस्तान्तरण गरिएको थियो । उपप्रमुख कार्कीले संकटको बेलामा प्राप्त भएको यो सहयोग महत्वपूर्ण भएको बताउँदै प्याब्सनप्रति आभार व्यक्त गरिन् । प्राप्त सहयोगले महानगरको अत्यावश्यक सेवा पुनः सञ्चालनमा ल्याउन ठूलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

अशोज १०, २०८२, दिउँसोको ०१:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर