मोरङमा भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२५ को पहिचान

विराटनगर । जेनजी आन्दोलनको आडमा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्न १२५ जनाको प्रहरीले पहिचान गरेको छ ।

आन्दोलनका क्रममा मोरङमा ठूलो भौतिक क्षति भएको छ । जिल्लाका १५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको भन्दै प्रहरीले त्यसमा संलग्न १२५ जनाको पहिचान भइसकेको जानकारकी दिएको हो ।

मोरङका प्रहरी उपरीक्षक कविन कटवालले आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिएर दोषीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्र भइरहेको जानकारी दिएका छन् । घटनामा संलग्नहरुको फोटो र भिडियो आम नागरिकले प्रहरीलाई उपलब्ध गराएको जानकारी दिँदै उनले त्यसको प्राविधिक विश्लेषण गरेर अनुसन्धान भइहरेको बताए ।

सरकारी तथा निजी सम्पत्तीमाथि विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले जनाएको छ । आगजनी, तोडफोड र लुटपाटमा संलग्नेले उन्मुक्ति नपाउने एसपी कटवालले बताए । प्रहरी प्रधान कार्यालयले गरेको सरुवाका आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका कटवालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

आगजनी एवं तोडफोडबाट क्षति पुगेका संरचनाको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको जानकारी दिँदै कटवालले घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा केही उजुरी पनि परेको बताएका छन् । जेनजीको नाम लिएर अपराधिक कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरेर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ केन्द्रित हुने उनले बताए ।

अपराधिक गतिविधि गर्ने र अराजक भिडलाई त्यस्ता गतिविधि गर्न उक्साउनेहरु भाग्न नपाउन् भनेर प्रहरीले निगरानी बढाएको जनाएको छ । प्रहरीले अझै पनि कोही कसैसँग भएका आगजनी र लुटपाटसँग सम्बन्धित भिडियो र प्रमाणहरु उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ ।

आन्दोलनका क्रममा प्रहरीका गाडी तोडफोड भएको, आगजनी भएको, प्रहरीको युनिफर्म जलाइएको र केही स्थानमा हातहतियारसमेत लुटिएको स्मरण गर्दै एसपी कटवालले यस्ता घटनाले मैदानमा खटिने प्रहरी कर्मचारीको मनोबलमा असर पारेको स्वीकार गरेका छन् । अपराधिक काम गर्नेहरुमाथि कस्तो कार्वाही गर्ने भन्ने विषयमा सरकारको निर्णयको पर्खाइमा रहेको एसपी कटवालले बताएका छन् ।

मोरङमा प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालयसहितका मन्त्रालय, मुख्यमन्त्रीको निवास, जिल्ला र उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय स्थानीय तह तथा वडा कार्यालय र निजी घरससहित १०० भन्दा धेरै घरमा आगजनी र तोडफोड भएको छ । अदालतमा अगजानी गर्दा डेढ लाखभन्दा धेरै मिसिल जलेर नष्ट भएका छन् ।

अशोज ८, २०८२, दिउँसोको १२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर