विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले जिल्लाको शान्ति सुरक्षालाई सुदृढ पार्दै प्रहरीको खस्किएको मनोबललाई उच्च बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
सोमबार मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि आज (बुधबार) सञ्चारकर्मीहरूसँगको पहिलो परिचयात्मक कार्यक्रममा बोल्दै उनले कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकमैत्री प्रहरी सेवामार्फत ‘सुरक्षित मोरङ’ को अवधारणालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरे ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिइएको बताउँदै एसपी कटवालले उक्त घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको जानकारी दिए । ‘जो कोहीसँग ती घटनाका फोटो वा भिडियोहरू छन् भने हामीलाई उपलब्ध गराइदिनुहुन हामीले अनुरोध गरेका थियौँ । सोहीअनुरूप हामीले थुप्रै महत्त्वपूर्ण भिडियो र तस्बिरहरू प्राप्त गरेका छौँ, जसको प्राविधिक विश्लेषण तीव्र गतिमा भइरहेको छ,’ एसपी कटवालले भने ।
उनले घटनाका थप प्रमाणहरू भए जिल्ला प्रहरी कार्यालयको इमेलमा पठाइदिएर अनुसन्धानमा सहयोग गर्न आम नागरिकलाई पुनः हार्दिक अपिल गरे ।
आन्दोलनका क्रममा प्रहरीका गाडीहरू तोडफोड भएको, आगजनी भएको, प्रहरीको युनिफर्म जलाइएको र केही स्थानमा हातहतियारसमेत लुटिएको स्मरण गर्दै एसपी कटवालले यस्ता घटनाले स्वाभाविक रूपमा मैदानमा खटिने प्रहरी कर्मचारीको मनोबलमा असर पारेको स्वीकार गरे । ‘यी सबै चुनौतीहरूबाट हामी उठ्नुपर्छ । हामी नागरिकको सेवा र सुरक्षाका लागि राज्यले दिएको जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध छौँ र आफ्नो कर्तव्यबाट किञ्चित पनि विचलित हुँदैनौँ,’ उनले दृढता व्यक्त गर्दै भने, ‘अहिले सबै प्रहरी युनिटहरू आफ्नो नियमित काममा फर्किसकेका छन् र हामी पूर्ण ऊर्जाका साथ जिल्लाको शान्ति सुरक्षामा खटिएका छौँ ।’
संवेदनशीलतालाई आफूले गहिरोसँग बुझेको बताउँदै उनले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणदेखि सहरमा हुने जुवातास र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए ।

एसपी कटवालले सही सूचनाको अभावमा समाजमा भ्रम र अफवाह फैलिने खतरा रहने भन्दै सञ्चारकर्मीसँग निकट सहकार्य गरेर अघि बढ्ने योजना सुनाए । ‘कहिलेकाहीँ ‘मिस इन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले समाजमा नकारात्मक असर पार्छ । यसलाई रोक्न हामी सञ्चारकर्मीहरूसँग निरन्तर सम्पर्कमा रहनेछौँ,’ उनले भने, ‘आवश्यक परेमा एउटा ह्वाट्सएप ग्रुप बनाएर भए पनि प्रहरीले गरेका काम कारबाहीको सत्यतथ्य विवरण तत्काल उपलब्ध गराउनेछौँ, ताकि सूचनाको ग्याप नहोस् ।’ उनले आफू र कार्यालयका सूचना अधिकृत जुनसुकै बेला सूचनाका लागि उपलब्ध रहने प्रतिबद्धतासमेत जनाए ।
आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै एसपी कटवालले ‘नागरिक बिना बर्दीको प्रहरी’ भएको धारणा राखे । उनले कुनै पनि आपराधिक घटना वा व्यक्तिका बारेमा सूचना दिने नागरिकको पहिचान पूर्ण रूपमा गोप्य राखिने र उनीहरूको सुरक्षाको ग्यारेन्टी प्रहरीले लिने विश्वास दिलाए । ‘तपाईंहरूले दिएको सानो सूचनाले ठूलो अपराध रोक्न सक्छ । सूचना दिनुहोस्, कारबाही हामी तत्काल र निर्मम ढंगले गर्छौँ,’ उनले भने ।
मोरङमा हतियार लुटिएको घटना नभए पनि देशका अन्य भागमा हिरासत वा कारागारबाट भागेका वा हतियार लुटेका अपराधीहरू मोरङमा आश्रय लिन सक्ने सम्भावनाप्रति प्रहरी सचेत रहेको उनले बताए । ‘अन्यत्र लुटिएको हतियार यहाँ भित्रिन सक्छ । त्यस्ता समूह र व्यक्तिहरूमाथि हाम्रो सुक्ष्म निगरानी छ र हाम्रो इन्टेलिजेन्सलाई सोहीअनुसार परिचालित गरिएको छ,’ उनले स्पष्ट पारे ।
नजिकिँदै गरेको दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाइने र नागरिकले निर्धक्कसँग चाडपर्व मनाउने वातावरण सिर्जना गर्न मोरङ प्रहरी दत्तचित्त भएर लाग्ने विश्वाससमेत उनले दिलाए ।
