विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामा पुनः सञ्चालनका लागि महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अवलोकन गराएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाशकुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेसहितको विज्ञ प्राविधिक टोलीले आइतबार सबै कोठाको अवलोकन गरेको हो । विश्वविद्यालयको टोलीसहित नेपाल इन्जिनियर एसोसिएसन र महानगरका विज्ञ प्राविधिकहरुले भवनको अवस्था अवलोकन गरेका थिए ।
प्रारम्भिक अवलोकन र परीक्षणबाट मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था देखिएको विज्ञ टोलीको निश्कर्ष रहेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको महानगरको प्रशासनिक भवनलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्राविधिक टोली मार्फत अवलोकन र परीक्षण गराइएको महानगरका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । महानगरको भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घरनक्सा शाखा, बैठक कोठालगायतमा बढी क्षतिपुगेको छ । महानगरका तीनवटा भवनमध्ये प्रवेशद्वार छेउको राजस्व महाशाखा रहेको भवनमा सबैभन्दा बढी क्षतिपुगेको छ ।