विराटनगर महानगरपालिकालाई सबैको सहयोगमा उठाउने प्रयास गरिरहेका छौं

भदौ २३ र २४ गते जेन्जी उमेर समूहका युवाहरुको आव्हानमा भएको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाले ठूलो क्षति व्यहोर्नु परेको छ । महानगरपालिकाको मुख्य प्रशासनिक भवन, सवारी साधनहरु, वडा कार्यालयहरु जलेर ध्वस्त भएका छन् । उक्त घटनापछि झण्डै १२ दिन विराटनगर महानगरपालिकाले नागरिकलाई सेवन दिनै नसक्ने अवस्था उत्पन्न भयो । विराटनगर महानगरपालिकामा यो घटना हुनुभन्दा पहिले नै मेयर नागेश कोइराला विदेश भ्रमणमा गएका थिए । महानगर प्रमुख नेतृत्वविहीन अवस्थामा रहेको बेला अकल्पनीय र त्रासदीपूर्ण हिंसाको सिकार हुनपुग्यो । तर त्यस्तो कठिन परिस्थितिलाई विराटनगर महानगरपालिकाकी उपविराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सुरुवाती दिनबाटै कुशल नेतृत्व प्रदान गरिन् । घटनाबाट अलिकति पनि बिचलित नभइकन उपप्रमुख कार्कीले महानगरलाई फेरि उठाउनु पर्छ भनेर निरन्तर काम गरिन् । उनले त्यस्तो कठिन समयमा पनि महानगरमा प्रवाह गर्नुपर्ने स्वास्थ्य सेवालाई नरोक्न र जहाँ जुन अवस्थामा छ सोही अवस्थाबाट स्वास्थ्य सेवा प्रवाह गरिरहन निर्देशन दिइन् । अत्यावश्यक सिफारिस र दैनिक प्रशासनका हिसाबले सञ्चालन गर्नुपर्ने सेवाहरुलाई निरन्तरता दिन कर्मचारीहरुलाई निर्देशन दिइन् । सोही क्रममा आज आइतबारबाट महानगरले राजश्व, कृषि, सरसफाइ आदि शाखाहरुको कामलाई आगलागीबाट ध्वस्त भएको तर, बस्न मिल्ने भवनबाटै सुरु गराएकी छन् । वडाहरुलाई पनि जुन अवस्थामा भएपनि काम अघि बढाउन सबै वडाहरुमा पुगेरै निर्देशन दिइसकेकी छन् । जसले महानगरपालिकाबाट छोटो अवधिमै आंसिक सेवा प्रवाह सुरुवात गर्ने सफलता मिलेको छ । संकटमा कुशलतापूर्वक नेतृत्व गरेर नेतृत्व क्षमता प्रस्तुत गरेकी महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

भदौ २४ गते युवा आन्दोलनकारीको नाममा भएको हिंसात्मक आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा ठूलो क्षति भयो । यो घटनापछि महानगरपालिकाले आफ्नो कामलाई कसरी अगाडि बढाइरहेको छ ?

हामीले यो घटनाक्रम भइरहँदा पनि २३ र २४ गते हाम्रो स्वास्थ्य सेवा बन्द गराएनौँ । हाम्रो नगर अस्पताल रानीबाट दिने स्वास्थ्य सेवा २३ गते पनि सुचारु थियो, २४ गते पनि सुचारु थियो । त्यसपछि २५ र २६ गते हाम्रो यहाँ कुनै पनि कामहरू भएन । त्यसपश्चात् म आफैँ पनि र सबै कर्मचारीहरू आएर अति आवश्यक जस्तै हामीले मात्रै यहाँबाट सेवा दिएर पनि सबै कामहरू नहुने हुन्छ । यहाँबाट सिफारिस गरेर, वडाबाट सिफारिस लिएर सिडिओ कार्यालयमा गएर हुने कामहरु हामीले गरेका छैनौँ । तर, विदेश जाने भाइबहिनीहरू हुनुहुन्छ, उहाँहरुका सिफारिसहरू र स्वास्थ्यको कुनै तोक लगाउनुपर्ने जस्ता अति आवश्यक कुरालाई चाहिँ हामीले सबै दिन सुचारु राख्यौं, अहिले पनि गरिरहेका नै छौँ ।

महानगरको दैनिक प्रशासन सञ्चालन गर्नेलगायत, योजना सञ्चालन गर्ने र अन्य शाखाहरुबाट हुने काममा बाधा पुगेको देखिन्छ । ती शाखाहरुले कहिलेबाट सेवा प्रवाह गर्न थाल्नेछन् ?

अब हामी बिस्तारै–बिस्तारै एकपछि अर्को, एकपछि अर्को गर्दै सेवालाई सुचारु गर्नेछौं । जस्तै आजदेखि राजस्वका कर्मचारीहरु बसेर काम सुरु गर्नुभएको छ । वडाहरूमा पनि मैले जुन–जुन वडामा हामी सेवा दिन सक्ने अवस्थामा छौँ, ती वडालाई पनि आजदेखि नै तपाईंहरूले अति आवश्यक सेवा सुचारु गर्नुस्, राजस्वको सेवा दिन दिन सक्नुहुन्छ, सिफारिस दिन मिल्ने कुनै पनि कुराहरू छन् भने त्यसलाई सुचारु गर्नुस् भनेर निर्देशन दिइसकेको छु । जसलाई सिफारिस दिँदा हुने, कुनै कागजपत्र, डकुमेन्ट नचाहिने त्यस्ता कामहरूलाई चाहिँ नरोक्नु भनेर भनेको छु र सायद वडाहरूले आजबाट काम पनि थाल्नुभएको छ । अस्ति म आफैँ सबै वडा घुमेर आएको छु । यहाँबाट पनि हामीले आजदेखि सेवा प्रवाह सुरु गरेको छौँ भने भोलिे घटस्थापनाको छुट्टि भएकोले पर्सिदेखि हाम्रो कानुन शाखाबाट दिने सेवालाई पनि सुचारु गर्ने तयारी गरेका र्छौँ ।

त्यसैगरी अब जुन–जुन शाखाबाट, जस्तै अहिले भर्खर कृषिको कुरा आएको छ । मल, बीउबिजन आइरहेको छ भने किसानलाई किन रोक्ने ? यहीँ बाहिरै बसेर भए पनि हामी त्यो सेवाहरू दिउँ भनेर भनेको छु । एकपछि अर्को बिस्तारै–बिस्तारै सेवा दिँदै जानेछौं । र सायद अब दसैँपछि नै पूर्ण रूपले सेवा सुचारु गर्न सक्छौं होला । अति आवश्यक चाहिँ हामी सुचारु गरिरहेका छौँ ।

वडाहरूको अवस्थाचाहिँ के छ ? कतिवटा वडा पूर्ण रूपमा जलेका छन् ?

विराटनगर महानगरपालिकाको १३ वटा वडा क्षतिग्रस्त भएको छ । हाम्रो ६ वटा वडामाचाहिँ तोडफोड, आगजनी केही पनि भएन भने १३ वटा वडामा तोडफोड र आगजनी भएको छ । ती १३ वडामध्ये १९, ४, ५, ११, र ६ नम्बर वडाहरूमा आगजनी गरी पूर्णरुपमा ध्वस्त भएको अवस्था छ । अरू वडामा चाहिँ सामान तोडफोड गर्ने काम भएको छ । ती वडाहरुलाई अहिले दुइटा डेस्कटप, एउटा प्रिन्टर राखेर तपाईंहरू सेवा सुचारु गर्नुस् भनेर भनिएको छ । हाम्रो प्रशासनले सबै सचिवहरूलाई त्यस अनुसारको निर्देशन पनि पठाइसक्नुभएको छ । आाइतबारदेखि वडामा पनि आवश्यक कुराहरू भएको छ । अब त्यो वडालाई पनि फेरि पहिलाकै गतिमा अगाडि बढाउन चाहिँ केही समय लाग्छ ।

महानगरपालिकामा भएको क्षतिको विवरण संकलन भइसक्यो कि बाँकी छ ?

क्षतिको तथ्यांक र सम्पूर्ण विवरण संकलन भइसकेको छ । हामीले मुचुल्का उठाएर वडा–वडाबाट पनि सबै लिएर आइसकेका छौँ । अब त्यसलाई क्यालकुलेसन गरेर त्यसको आर्थिक विवरण निकाल्न बाँकी छ । त्यसपछि यति अमाउन्ट बराबरको क्षति भयो भन्ने स्पष्ट हुन्छ ।

क्षति भएका यी कार्यालयहरु स्थापना गर्नको लागि महानगरले कसरी आर्थिक स्रोतको प्रबन्ध गर्छ ?  यस विषयमा कार्यपालिकामा के छलफल गर्नुभयो ?

घटना लगत्तै मैले अस्ति नै यहाँका संघसंस्थाहरूसँग एउटा बैठक राखेर उहाँहरूसँग क्षतिग्रस्त विराटनगर पुनर्निर्माण गर्ने विषयमा छलफल गरेको छु । किनभने महानगरको एउटा बिल्डिङ मात्र क्षति भएको छैन, अरू १३ वटा वडामा पनि क्षति भएको कारणले सबैजना मिलेर यो विराटनगर महानगरपालिकालाई कसरी बनाउने भनेर परामर्श गर्न जरुरी थियो । त्यसपछि अस्ति भर्खर पनि यहाँका सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरूसँग बसेर छलफल ग¥यौँ । आज पनि हामी निर्माण व्यवसायीहरूसँग बसेर छलफल गर्दैछौँ । र, अब अरू कतिपय योजनालाई कटौती गरेर भए पनि पुननिर्माण गर्नुपर्ने काम हाम्रालागि अति आवश्यक हुन पुगेको छ । त्यसरी नै हामी स्रोतको व्यवस्थापन गर्छौं ।

यस बाहेक सेवालाई सहज बनाउने र कार्यालयलाई नियमित गर्ने विषयमा थप पहल के गर्नुभयो ?

अहिले त अति आवश्यक भनेको सेवा प्रवाह नै हो । अनि आगलागी भएकै दुई दिनपश्चात् नै म यहाँ आएर फुल टाइम बसिरहेको छु । सम्पूर्ण विराटनगरवासीलाई, सेवाग्राहीहरूलाई केही समय धैर्यता अपनाइदिनुहोस् भनेर । हामीले यसलाई सुचारु गर्न सक्दो प्रयास गरेका छौँ । चाहे त्यो हिजो शनिबारको बिदा होस् या कुनै पनि बिदाको दिन हामी घरमा नबसेर कामलाई निरन्तरता दिइरहेका छौँ । चाँडोभन्दा चाँडो सेवा दिने हाम्रो प्रयत्न छ । तपाईं–हामी सबै मिलेर फेरि यसलाई उठाउनुपर्छ भनेर सबै नगरवासीलाई भन्ने चाहन्छु ।

समाजका ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा भत्ता लिइरहेका नगरवासीहरुले अब भत्ता पाइँदैन कि भनेर चिन्ता गरिरहेको देखिन्छ, उनीहरुको सामाजिक सुरक्षा भत्ता निकासा हुन्छ कि हुँदैन ?

हैन, हामीले दिने कुनै पनि सेवालाई हामी रोक्दैनौँ । जुन सामाजिक सुरक्षा भत्ताहरू हामीले अहिले खुवाइरहेका थियौँ, त्यसलाई हामी निरन्तरता दिन्छौं । अरू विभिन्न खर्चहरू छन्, जस्तै हाम्रो विपद् कोषमा पनि यस वर्ष हामीले केही बजेट विनियोजन गरेका छौं । त्यो कोषबाट पनि हामी यो विपद्को पुननिर्मणमा खर्च गर्छौं । अरू संघसंस्थासँग पनि हामी सहयोग माग्छौँ । तर हामीले नागरिकलाई दिने सेवाचाहिँ कटौती गर्दैनौं ।

कर्मचारीहरूको सेवा सुविधा र दसैँको पेस्की उहाँहरुले पाउनुहुन्छ कि पाउनुहुन्न ?

कुनै पनि, चाहे त्यो कर्मचारीले पाउने सेवा–सुविधा होस् या कुनै नागरिकले पाउने सेवा–सुविधा कुनै पनि काटिदैन । यसका लागि हामीले विपद् व्यवस्थापन कोषबाट रकम चलाउन सक्छौं । त्यसबाहेक धेरै ठूलो खर्च नगर्ने भन्ने सोचमा हामी छौँ । एउटा अफिस सञ्चालन गर्न, एउटा शाखा सञ्चालन गर्न दुइटा ल्यापटपले सुरु गर्न सक्छौं । जस्तै कुनै बिल्डिङलाई बढी नै खर्च लाग्ने रहेछ भने एउटैमा दुईटा मिलाएर गरौँ । अति कमभन्दा कम खर्चमा यसलाई हामीले उठाउने प्रयास गरिरहेका छौं । त्यही भएर हामी कसैको सेवा–सुविधा काट्दैनौँ ।

संघीय र प्रदेश सरकारबाट पुनर्निमाणका लागि कुनै सहयोगको आश्वासन पाउनुभएको छ ?

अहिलेसम्म छैन । हामीले संघीय र प्रदेश सरकारबाट त्यस्तो कुनै आश्वासन र निर्देशनहरु पाएका छैनौं । हामी हाम्रै बलमा उठ्ने प्रयासमा छौं ।

अशोज ६, २०८२, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर