‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’: राजनीतिमा विस्थापन होइन, रुपान्तरणको खोजी

‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’: राजनीतिमा विस्थापन होइन, रुपान्तरणको खोजी

गोकुल पराजुली
अमेरिकी शिक्षाविद् तथा दार्शनिक अस्टिन फेल्प्सले मानव जीवन र चेतनाको सन्दर्भमा एउटा कालजयी विचार व्यक्त गरेका छन्– ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन ।’ यो भनाइ सतहमा हेर्दा सामान्य मितव्ययिताको पाठजस्तो देखिए पनि यसको दार्शनिक गहिराइ निकै बढी छ । यो भनाइले हामीलाई बाहिरी आवरण (कोट) भन्दा भित्री ज्ञान र चेतना (पुस्तक) को नवीकरण महत्त्वपूर्ण हुन्छ भन्ने सिकाउँछ । जब हामी नयाँ पुस्तक पढ्छौं, हाम्रो मस्तिष्कमा नयाँ विचारको सञ्चार हुन्छ, नयाँ दृष्टिकोण बन्छ । तर, त्यो नयाँ विचार हासिल गर्नका लागि हामीले आफूलाई न्यानो दिइरहेको, हाम्रो शरीरमा मिलेको पुरानो कोट नै फ्याँक्नुपर्छ भन्ने छैन ।

यही दर्शनलाई अर्का विश्वविख्यात विद्वान हेनरी डेभिड थोरोले अझ खरो रुपमा राखेका छन् । उनले भनेका छन्– ‘नयाँ लुगा चाहिने कामदेखि सावधान रहनू ।’ थोरोले किन यसो भने होलान् ? के उनी विकास विरोधी थिए ? पक्कै होइनन् । उनको आशय थियो– यदि कुनै काम वा विचारले तिम्रो आधारभूत चरित्र र अस्तित्व (पुरानो लुगा) लाई नै अस्वीकार गरेर केवल बाहिरी आवरण मात्र फेर्न बाध्य पार्छ भने त्यो शंकास्पद हुन्छ । पुरानो कोटमा इतिहास हुन्छ, संघर्षको धुलो टाँसिएको हुन्छ र अनुभवको सुगन्ध हुन्छ । त्यसलाई टालटुल गरेर, सफा गरेर (रिपेयर गरेर) अधिकतम उपयोग गर्न सकिन्छ भने फ्याँक्नु बुद्धिमानी होइन ।

हाम्रो समाजमा ‘ओल्ड इज गोल्ड’ भन्ने अंग्रेजी उखान अत्यधिक प्रचलित छ । तर के हामीले कहिल्यै सोचेका छौं– ‘ओल्ड इज वर्स’ (पुरानो जति खराब) किन भनिएन ? किनभने समयको लामो र कठोर परीक्षा पास गरेर जो अस्तित्वमा रहिरहन्छ, त्यो नै ‘गोल्ड’ अर्थात् सुन हो । प्रशिद्ध कवि जोसेफ पेरीले यो मर्मलाई स्पर्श गर्दै लेखेका थिए, ‘मेक न्यु फ्रेण्ड, बट किप द ओल्ड, दोज आर सिल्भर, दिज् आर गोल्ड ।’ अर्थात् ‘नयाँ साथी बनाऊ तर पुरानालाई नछोड, ती (नयाँ) चाँदी हुन् भने यिनीहरु (पुराना) सुन हुन् ।’

यो सन्दर्भमा जापानी दर्शन ‘किन्सुगी’ को उदाहरण अझ सान्दर्भिक र मर्मस्पर्शी छ । जापानमा माटोका पुराना भाँडाकुँडा फुट्दा तिनलाई फोहोरमा फ्याँकिदैन । बरु, ती फुटेका चिराहरुलाई पगालिएको सुन वा चाँदीले जोडिन्छ । जापानीहरु विश्वास गर्छन् कि ‘रिपेयर’ वा मर्मतपछि त्यो भाँडो पहिलेभन्दा झन् बलियो, सुन्दर र मूल्यवान हुन्छ । किनकि अब त्यो सामान्य भाँडो मात्र रहेन, त्यससँग एउटा ‘इतिहास’ र ‘पुनर्जन्म’ को कथा जोडियो । हाम्रो राजनीति र समाजलाई पनि आज यही ‘किन्सुगी’ चाहिएको छ– पुरानालाई फ्याँक्ने होइन, सुनौलो विचारले जोडेर अझ मूल्यवान बनाउने ।

हाम्रा ऐतिहासिक र पुरातात्विक धरोहरहरुलाई हेरौं । सिंहदरबारको ऐतिहासिक महत्त्व किन छ ? किनभने त्यो पुरानो छ । भर्खरै सिंहदरबारको एउटा भाग जलाइँदा वा मासिँदा जसरी हाम्रो मन पोल्यो, त्यसले पुष्टि गर्छ कि पुरानोको महत्त्व कति गहिरो हुन्छ । पुराना रक्सीहरु जति पुराना भयो उति महँगो र स्वादिलो मानिन्छन् । ठिक त्यसैगरी, समाज परिवर्तनका लागि रगत, पसिना र आँसु बगाएका पुराना राजनीतिक शक्तिहरुको अनुभवको मूल्य बजारमा भर्खरै आएका ‘नयाँ ब्राण्ड’ को भन्दा कयौं गुणा बढी हुन्छ ।

बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले भनेका थिए– ‘जो पछाडि धेरै टाढासम्म हेर्न सक्छ, उसले नै अगाडि धेरै टाढासम्म देख्न सक्छ ।’ अर्थात्, जसले आफ्नो विगत, इतिहास र पुराना जगलाई सम्मान गर्छ, उसैले मात्र भविष्यको सही मार्गचित्र कोर्न सक्छ ।
हामी आधुनिक वर्तमानमा बाँचिरहँदा यो भुल्नु हुँदैन कि हाम्रो वर्तमानलाई यो अवस्थामा ल्याउन अग्रजहरुले कति संघर्ष गरे । राणा शासन, पञ्चायत र राजतन्त्रका विरुद्ध दशकौं लामो संघर्ष, जेलनेल र बलिदानको जगमा आजको लोकतन्त्र उभिएको छ । त्यो संघर्ष र योगदान गलत थियो भने आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता पनि गलत ठहरिन्छ । त्यसैले पुरानाले निर्माण गरेको जगलाई ‘डेट एक्स्पायर्ड’ भन्दै डोजर चलाउनु भनेको आफ्नै घरको जग भत्काएर छतमा बस्ने सपना देख्नु जस्तै हो ।

अहिले नेपाल लगायत दक्षिण एसियामा ‘नयाँ’ को नाममा एउटा भावनात्मक लहर चलेको छ । पुराना राजनीतिक दल र नेताहरुलाई विस्थापित गरेपछि मात्रै स्वर्ग आउँछ भन्ने भ्रमपूर्ण भाष्य निर्माण गरिँदैछ । तर, माक्र्सवादी द्वन्द्ववादले भन्छ– समाज गतिशील छ, तर त्यो गतिशीलता क्रमभंगता र निरन्तरताको योग हो । नयाँ आउनु स्वभाविक हो, तर नयाँहरुले पुरानाको ‘लिगेसी’ लाई निषेध गरेर होइन, त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ । नयाँहरु ‘हल्ला’ हुन् वा ‘प्रतिज्ञा’ मात्र हुन्, जसको परीक्षण हुन बाँकी छ । तर पुरानाहरु ‘प्रमाण’ हुन्, जसले जनतालाई अधिकार सम्पन्न बनाएर देखाइसकेका छन् ।

राजनीतिको ‘रेट्रोफिटिङ’ र प्रचण्डको साहसिक कदम
पुरानो घर कमजोर भयो भन्दैमा भत्काउनु नै अन्तिम विकल्प होइन । इन्जिनियरिङमा ‘रेट्रोफिटिङ’ भन्ने प्रविधि हुन्छ, जसले पुरानो संरचनालाई बलियो बनाएर नयाँ जस्तै टिकाउ बनाउँछ । नेपाली राजनीतिमा अहिले यही ‘रेट्रोफिटिङ’ को खाँचो छ, विस्थापनको होइन ।

यही सन्दर्भमा, नेपालको वर्तमान राजनीतिमा तात्कालीन नेकपा (माओवादी केन्द्र) र यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिएको बाटो अत्यन्तै विचारणीय र अर्थपूर्ण छ । प्रचण्ड तिनै नेता हुन् जसको नेतृत्वमा भएको जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र आयो । उनी ‘पुरानो’ पुस्ताका प्रतिनिधि हुन्, तर उनको सोच र कार्यशैलीमा सधैं ‘नयाँ’ को भोक देखिन्छ ।

भर्खरै प्रचण्डले आफ्नो पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने जुन संकल्प लिएका छन्, त्यो ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ भन्ने दर्शनको व्यावहारिक प्रयोग हो । उनले सार्वजनिक रुपमै स्वीकार गरेका छन् कि पुराना संरचना, पुराना कार्यशैली र हिजोका मापदण्डले अब चल्दैन । उनी आफूले बनाएका पुराना घर (पार्टी कमिटी र विधि) भत्काएर, नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ विचारको जगमा पार्टीलाई पुनर्गठन गर्न कस्सिएका छन् । उनीसँगै पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, राजेन्द्र श्रेष्ठलगायतले रोजेको रुपान्तरणको बाटो र समयको गतिसँगै रुपान्तरण हुनुपर्छ भनी थालेको प्रयत्नलाई अत्यन्त सकारात्मक निर्णयको रुपमा लिइनु पर्दछ ।

धेरैले सोच्छन्– पुरानो नेताले विश्राम लिनुपर्छ । तर प्रचण्डको यो सक्रियताले भन्छ– पुराना नेतासँग अनुभवको यस्तो खानी हुन्छ, जसलाई नयाँ विचारको ‘पुस्तक’ सँग जोड्न सकियो भने त्यो शक्ति अजय हुन्छ । आफ्नै नेतृत्वमा बनेका पुराना संरचनालाई भत्काएर नयाँ परिवेश अनुसार रुपान्तरण हुन तयार हुनु भनेको सामान्य आँट होइन । यो त आफ्नो इतिहासलाई सम्मान गर्दै भविष्यलाई स्वागत गर्ने एउटा गतिशील चरित्र हो । उनले चाहेको भए पुरानै ढर्रामा रमाइराख्न सक्थे, तर उनले जोखिम मोलेरै भए पनि ‘रुपान्तरण’ को बाटो रोजे ।

नयाँ दलहरुले बजारमा नयाँ नारा त देलान्, तर उनीहरुसँग संकटको सामना गर्ने अनुभव छैन । तर माओवादी र प्रचण्डजस्ता शक्तिसँग विगतका गल्तीबाट सिक्ने क्षमता र संकटसँग जुध्ने अनुभव दुवै छ । जब एउटा अनुभवी पाइलटले नयाँ जहाज चलाउने तालिम लिन्छ, तब यात्रा सबैभन्दा सुरक्षित हुन्छ । अहिले प्रचण्डले त्यही गरिरहेका छन्– ‘पुरानो पाइलट’ (अनुभवी नेता) ले ‘नयाँ जहाज’ (डिजिटल युग र नयाँ पुस्ताको आकांक्षा) हाँक्ने तयारी ।

निष्कर्षः निषेध होइन, सम्मानसहितको अग्रगमन
तसर्थ, ‘नयाँ’ को रोमाञ्चकतामा बहकिएर ‘पुराना’ को योगदानलाई अवमूल्यन गर्ने भुल हामीले गर्नु हुँदैन । पुराना राजनीतिक दलहरुमा समस्या पक्कै छन् । फोहोर जमेको छ, खिया लागेको छ । तर त्यसको समाधान तिनलाई कवाडीमा बेच्नु होइन, बरु तिनलाई माझमुझ गरेर, रिपेयर गरेर वा किन्सुगी विधिबाट जोडेर पुनः प्रयोग गर्नु हो ।

जो समयको गतिसँगै रुपान्तरण हुन चाहँदैन, त्यो आफैं विस्थापित हुन्छ– यो प्रकृतिको नियम हो । तर जो रुपान्तरण हुन तयार छ, जो आफ्नो पुरानो कोटलाई सफा गरेर नयाँ ज्ञानको पुस्तक पढ्न तयार छ, उसलाई निषेध गर्न खोज्नु समाजको हितमा छैन । नेपाली जनताले पुराना शक्तिबाट प्राप्त उपलब्धिको रसस्वादन गरिसकेका छन् र अझै परिष्कृत सेवाको अपेक्षा गरेका छन् ।

नेपालमा भर्खरै पुराना राजनीतिक योगदानकर्ताहरुले आफूलाई रुपान्तरण गर्ने जुन जमर्को गरेका छन्, विशेषतः प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीले आफूलाई ‘नयाँ पुस्तक’ पढ्ने र ‘पुरानो कोट’ लाई समयसापेक्ष बनाउने जुन अभियान थालेको छ, त्यो नेपाली राजनीतिका लागि एउटा सुनौलो अवसर हो । यसले सिद्ध गर्छ– पुरानोको महत्त्व नयाँको भन्दा कम छैन, र रिपेयर वा परिमार्जनसहितको पुरानो शक्ति नै देशका लागि सबैभन्दा भरपर्दो ‘गोल्ड’ साबित हुन सक्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्